फिलिपिन्समा सैनिक विमान दुर्घटना : मृत्यु हुनेको संख्या ५० पुग्यो
अखबार टुडे
प्रकाशित:
२०७८, २१ असार

कोटाबाटो, फिलिपिन्स, २१ असार (एजेन्सी) । फिलिपिन्समा आइतार भएको सैनिक विमान दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ५० पुगेको यहाँको रक्षा मन्त्रालयले सोमबार जानकारी दिएको छ ।

फिलिपिन्सको एउटा सैनिक विमान हवाई मैदानमा अवतरण गर्नेक्रममा आइतबार दुर्घटनाग्रस्त भएको थियो । त्यसमा परेर आइतबार नै कम्तीमा पनि १७ जनाको मृत्यु भएको बताइएको थियो ।

सैनिकहरु चढेको उक्त विमानमा सवारमध्ये अरु घाइते थिए । ती घाइतेमध्ये केहीको मृत्यु भएपछि सोमबार मृतकको संख्या ५० पुगेको फिलिपिन्सको रक्षा मन्त्रालयले जानकारी दिएको हो ।

सी–१३० हर्कुलस विमानमा ९२ जना सवार रहेका बताइएको छ । सुलु प्रान्तको जोलो द्वीपस्थित विमानस्थलमा अवतरण गर्नेक्रममा नजिकैको आवासीय क्षेत्रमा आइतबार मध्याह्न विमान दुर्घटनाग्रस्त भएको हो ।

फिलिपिन्सको रक्षा मन्त्रालयले दुर्घटनाको कारणका बारेमा सरकारले अनुसन्धान शुरु गरेको जानकारी दिएको छ । सेनाका प्रवक्ताले सो विमानको दुर्घटनाका बारेमा आइतबार साँझदेखि नै अनुसन्धान शुरु भएको बताएको छ ।

प्रतिक्रिया