काठमाडौं, २० असार । प्रतिनिधिसभा विघटनविरूद्ध परेको रिटमा संवैधानिक इजलासमा सभामुख अग्नि प्रसाद सापकोटा पक्षका कानुन व्यवसायीको बहस शुरु भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा अधिवक्ता मेघराज पोखरेलले बहस शुरु गरेका छन् ।
सभामुखको पक्षमा बहस गर्ने कानुन व्यवसायीका लागी २ घण्टा समय छुट्याइएको छ । अधिवक्ता पोखरेलले १ घण्टा बहस गर्ने बताइएको छ ।
पोखरेलपछि सभामुखको तर्फबाट श्रीकृष्ण सुवेदी, बरिष्ठ अधिवक्ता उपेन्द्र केशरी न्यौपाने, लव कुमार मैनाली र श्याम खरेलले बहस गर्नेछन् । सभामुखका तर्फबाट बहस सकेर आजै निवेदक पक्षको जवाफी बहस गर्ने तयारी रहेको छ ।
गत असार ९ गते शुरू भएको सुनुवाइका क्रममा यसअघि राष्ट्रपति र प्रधानमन्त्रीका तर्फबाट सरकारी र निजी गरी ३२ जना अधिवक्ताहरुले १४ घन्टा बहस गरिसकेका छन् । सुनुवाइको शुरूवातमा निवेदक पक्ष (विपक्षी गठबन्धन) का तर्फबाट ३६ जना कानुन व्यवसायीले १२ घण्टा बहस गरेका थिए ।