आप्रवासी चढेको एउटा डुुङ्गा भूमध्य सागरमा डुब्दा ४३ जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, २० असार

काठमाडौं, २० असार । आप्रवासी चढेको एउटा डुङ्गा भूमध्य सागरमा डुब्दा ४३ जनाको ज्यान गएको छ । डुबेकामध्ये ८४ जनाको भने उद्धार भएको छ ।
लिबियाको उत्तर पश्चिमी क्षेत्रबाट इटली जान हिँडेकाहरु चढेको डुङ्गा ट्युनिसियाको सीमा नजिकै दुर्घटनामा परेको बीबीसीले जनाएको छ ।
लिबियाको उत्तर पश्चिमी तट जुवाराबाट छुटेको सो डुंगा इन्जिनमा खराबीका कारण भूमध्य सागरमा डुबेको अधिकारीहरुले बताएका छन् । डुङ्गामा इजिप्ट, सुडान, बङ्गलादेशलगायत देशका नागरिक चढेका खबरमा उल्लेख छ ।
भूमध्य सागर युरोप र अफ्रिकाको बीचमा अवस्थित छ । अफ्रिका र मध्यपूर्वका धेरै नागरिकहरु गरिबी र युद्धका कारण त्यहाँबाट भागेर भूमध्य सागर पार गर्दै युरोपेली देश पुग्ने गरेका छन् ।
विगत केही वर्षयता यो बाटो प्रयोग गर्ने क्रम घटेको थियो । तर सन् २०२१ को सुरुवातदेखि फेरि यो बाटोमा चहल पहल बढेको छ ।
इटलीको गृह मन्त्रालयका अनुसार गत वर्षको जुलाई महिनासम्ममा ६ हजार सात सय जना भूमध्य सागर पार गर्दै इटली आएका थिए । तर सन् २०२१ मा यो संख्या १९ हजार ८ सय पुगिसकेको छ ।
सन् २०१६ को जुन महिनामा भूमध्य सागरमा एक डुंगा डुब्दा ११७ जनाको मृत्यु भएको थियो भने ३४० जनाको उद्धार गरिएको थियो ।

प्रतिक्रिया