महाधिवेशनको तयारीमा जुट्न आफू निकटकालाई देउवाको निर्देशन
अखबार टुडे
प्रकाशित:
२०७८, १९ असार

काठमाडौं, १९ असार । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार आफू निकटका नेताहरुसँग आफ्नै निवास बुढालनीलकण्ठमा छलफल गरेका छन् ।
आफूपक्षीय शीर्ष नेताहरुसँग आगामी महाधिवेशन र क्रियाशील सदस्यता सम्बन्धमा छलफल गरेका हुन् । सोक्रममा देउवाले महाधिवेशनमा जित्ने गरी तयारीमा जुट्न नेताहरुलाई निर्देशन दिए ।
छलफलमा उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, नेता एनपी साउद लगायतको सहभागिता थियो ।
यस्तै छानविन समिति संयोजक रमेश लेखकसहित सदस्यहरु आनन्द ढुंगाना, श्याम घिमिरे र योगेन्द्र चौधरी पनि छलफलमा सहभागी थिए ।
शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी तथा शीर्ष नेताहरुको बैठकले क्रियाशील सदस्यमा देखिएको विवाद समाधानका लागि सहमति जुटाएपछि देउवाले आफूपक्षीय छानविन समितिका सदस्यसहितको छलफल गरेका हुन् । करिब ५ सय वडामा क्रियाशील सदस्यता सम्बन्धी समस्या राखेको संयोजक लेखकले बताएका थिए ।

प्रतिक्रिया