युद्धका कारण इथियोपियामा ४ लाखभन्दा धेरै जनसंख्या भोकमरीको मारमा
अखबार टुडे
प्रकाशित:
२०७८, १९ असार

अदिस अबाबा, १९ असार (एजेन्सी) । इथियोपियाको टिग्रे क्षेत्रमा चलेको पछिल्लो लडाइँले सिर्जित भोकमरीको मारमा ४ लाखभन्दा धेरै जनसंख्या परेको संयुक्त राष्ट्रसंघका अधिकारीहरुले बताएका छन् ।
यस संकटबारे बसेको राष्ट्रसंघ सुरक्षा परिषद्को पहिलो बैठकपछि सदस्य राष्ट्रहरुले ३३ हजार बालबालिका कुपोषणको शिकार भएको बताएका छन् ।
थप १८ लाख जनसंख्या भोकमरीको संघारमा पुगेको पनि अधिकारीहरुले जनाएका छन् । टिग्रे क्षेत्रमा आठ महिनादेखि लडाँइ चलिरहेको छ । युद्धविराम घोषणा भएको भएपनि यहाँ थप द्वन्द्व निम्तन सक्ने चेतावनी पनि राष्ट्रसंघका अधिकारीहरुले दिएका छन् ।
टिग्रेमा क्षेत्रीय दस्ताहरुसँग भिडिरहेको इथियोपियाली सरकारले सोमबार एकपक्षीय रुपमा युद्धविराम घोषणा गरेको थियो । यद्यपी, विद्रोहीहरुले कुनै हालतमा आफ्नो शत्रुलाई क्षेत्रबाट सफाया गरि छाड्ने घोषणा गरेका छन् ।
वार्ताका लागि अन्तर्राष्ट्रिय दबाब आइरहे पनि अहिलेसम्म विद्रोहीबाट प्रतिक्रिया आएको छैन । टिग्रे पिपुल्स लिवरेशन फ्रन्ट (टिपिएलएफ) र सरकारी सेनाबीचको यो लडाइँका कारण हजारौं मानिस मरिसकेका छन् ।
त्यस्तै २० लाखभन्दा धेरै जनसंख्या बसाईंसराई सर्न बाध्य छ । युद्धका सबै पक्षहरुले मानवअधिकार उल्लंघन गर्दै व्यक्ति हत्या गरिरहेको अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरुको आरोप छ ।

प्रतिक्रिया