डान्स मेरो प्यासन हो : नेहा
अखबार टुडे
प्रकाशित:
२०७८, १८ असार

करिब आठ वर्षयता निरन्तर नृत्यमा क्षेत्रमा सक्रिय रहँदै आएकी नेहा तामाङ एक कुसल मोडल पनि हुन् । तर, आफूलाई डान्सरकै रुपमा चिनाउन चाहन्छिन् । विभिन्न म्युजिक भिडियो र शर्ट फिल्ममा अभिनय गरिसकेकी नेहा भन्छिन्, ‘म डान्सिङ क्षेत्रबाटै यहाँसम्म आएकी हुँ, त्यसैले आफूलाई डान्सर नै भन्न रुचाउँछु ।’ काठमाडौं सयम्भूकी नेहा सानैदेखि डान्स गर्थिन् । पछिल्लो समय नेपालमा पनि डान्सिङ क्षेत्रलाई सकरात्मक रुपमा लिन थालिएको उनको अनुभव छ । यिनै डान्सर तथा मोडल नेहासँग एमपी सुब्बाको जम्काभेट :


तपाइँ डान्सर कि मोडल ?
– पहिले त डान्सरमात्र थिएँ । अहिले दुवै हुँ । मोडलिङ गर्न थालेका चार वर्ष भयोे । त्यसअघि डान्स गर्थेँ ।

डान्सिङ क्षेत्रमा लाग्नुभएको कति भयो ?
– सानैदेखि डान्स गर्थे । व्यवसायीरुपमा डान्स गर्न थालेकोचाहिँ ८ वर्ष भयो । डान्स गर्दागर्दै मोडलिङ गर्न थालेकी हुँ ।

सानैमा डान्सतिर कसरी आकर्षित हुनुभयो ?
– मेरो फेमिलीमा सबै जना खेलाडी छन् । मैले पनि केही समय कराँते सिकेँ । तर, मेरो रुचि डान्समा थियो । त्यसैले कराँते छाडेर डान्सिङतिर लागेँ । डान्स मेरो सानैदेखिको प्यासन हो ।

डान्सिङ करिअर कहाँबाट सुरु भयो ?
– मेरो मम्मी इण्डियन एम्बेसीमा हुनुहन्थ्यो । मम्मीको थ्रोबाट मैले एम्बेसीको इण्डियन कल्चर सेन्टरमा क्लासिक डान्स सिक्ने मौका पाएँ । त्यहाँ डान्स सिक्दासिक्दै स्टेज कार्यक्रमहरुका लागि अफर आउन थाल्यो । त्यसपछि व्यवसायी डान्सर बनेँ ।

नेपालमा डान्सरहरुको अवस्था कस्तो छ ?
– जतिखेर डान्स गर्न सुरु गरेकी थिएँ, त्यो बेला नेपालमा डान्सरलाई राम्रो नजरले हेर्दैनथ्यो । त्यो नाच्ने त हो नि भन्थे । तर, अहिलेचाहिँ राम्रो छ । सबै जना डान्स सिक्न थालेका छन् । अहिले डान्सरकै रुपमा करिअर बनाउन सकिन्छ ।

अहिलेसम्म कति म्युजिक भिडियोमा काम गर्नुभयो ?
– एक दर्जनभन्दा बढी भिडियोमा मोडलिङ गरेकी छु । केही शर्ट फिल्ममा पनि अभिनय गरेकी छु । अहिले ‘रुद्राक्ष’ भन्ने सिरियलमा अनुबन्धित भएकी छु । सामान्य अवस्था आएपछि सुटिङ हुँदैछ ।

डान्सिङ, मोडलिङ र अभिनयमध्ये तपाइँलाई कुन सजिलो लाग्छ ?
– मलाई डान्स गर्न सजिलो लाग्छ किनकि, सानैदेखि डान्स गर्दै आएकी हुँ । डान्सर नभएको भए अहिले यो क्षेत्रमै हुन्न थिएँ ।

अभिनयमा प्राथमिकता नभएको हो ?
– हो, अभिनयमा पहिल्यैदेखि मेरो प्राथमिकता थिएन । कसरी यो क्षेत्रमा आएँ, थाहा छैन । अबको दिनमा चाहिँ फरक किसिमको फिल्ममा अभिनय गर्ने सोच छ ।

नेपालका कुन डान्सरबाट प्रभावित हुनुहुन्छ ?
– मेरो बुबा टिभीमा दोहोरी गीत हेर्नुहुन्थ्यो । त्यतिखेर म सानैथिएँ । त्यो समय पार्वती राई र सम्झना बुढाथोकीको भिडियो खुबै टिभीमा बज्थ्यो । म उहाँहरुको डान्सबाट प्रभावित थिएँ । उहाँहरुको डान्स ऐना हेरेर नक्कल गर्थे ।

फिल्ममा अभिनयका लागि अफर आएको छ कि छैन ?
– अफर त आएको हो । तर, केही शर्तका कारण गरिनँ । फिल्मका लागि अफर मेरो लागि पहिलो गाँसमै ढुंगा सावित भयो । फिल्मको मुख्य व्यक्तिबाट नभएर सेकेण्ड पर्सनबाट नचाहिँदो शर्त आएकाले गरिनँ ।

त्यो कुन फिल्म थियो ?
– मैले फिल्मको नाम र ब्यानर सोधिन । नेपाली फिल्मका लागि कुरा भएको थियो । तर, मलाई लाग्छ, त्यो फिल्म अहिलेसम्म बनेको छैन

लकडाउनको समय कसरी बित्यो ?
– म गितार पनि सिक्दैछ । सो गितार बजाएरै दिन वित्यो । मलाई म्युजिकतिर पनि रुचि छ ।

शोसल मिडियामा कतिको सक्रिय हुनुहुन्छ ?
– म खाशै शोसल मिडियामा सक्रिय छैन । बेला बेला टिकटक बनाउँछु । मलाई फेसबुक र इन्स्टामा खाशै रुचि छैन ।

तपाइँको लक्ष्य के हो ?
– मेरो लक्ष्य विजनेश वुमेन बन्ने हो । कलाकारिता मेरो प्यासन मात्र हो । सधैँ कलाकारिता गरेर पनि हुन्न । त्यसैले केही विजनेश गरौँ भन्ने सोच आएको छ ।

आफ्नो पेसाबाट खुसी हुनुहुन्न ?
– खुसी नै छु । मेरो प्यासन भएकाले रमाइलो लागिरहेको छ । तर, यसैलाई करिअर बनाएर लक्ष्यमै पुग्ने सोच छैन ।

प्रतिक्रिया