क्यानडामा अत्यधिक गर्मीका कारण २३० जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, १७ असार

ओट्टावा, १७ असार (एजेन्सी) । क्यानडामा अत्यधिक गर्मीका कारण पछिल्ला केही दिनमा आएको तातो हावामा परेर कम्तीमा पनि २३० जनाको मृत्यु भएको छ ।

क्यानाडाका अधिकारीहरुले दिएको जानकारीअनुसार क्यानाडाको तापक्रम अहिलेसम्मकै सबैभन्दा उच्च विन्दुमा पुगेको छ । यस तापक्रमका कारण तातो हावा चलिरहेको बताइएको छ । यसैकारण ती नागरिकको मृत्यु भएको हो ।

यहाँका विभिन्न स्वास्थ्य समस्यासँग जुधिरहेका वृद्ध मानिसहरुलाई यो तातो हावाले बढी असर गरेको छ । मृत्यु हुनेमा धेरैजसो तिनै नागरिकहरु परेका बताइएको छ ।

क्यानाडाको खासगरी ब्रिटिश कोलम्बिया प्रान्तका नागरिक बढी प्रभावित भएका छन् । जसका कारण यहाँका नागरिकमा विभिन्न स्वास्थ्य समस्याहरु पनि देखिएको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् ।

प्राप्त समाचार अनुसार मंगलबार मात्र क्यानाडाको तापक्रम अधिकतम ४९.६ डिग्री सेल्सियममा पुगेको थियो । यहाँ यो अहिलेसम्मकै उच्च तापक्रम भएको बताइएको छ ।

क्यानाडाको तापक्रम बुधबार चौथो दिन पनि उच्च नै रहेको बताइएको छ । अमेरिकाको उत्तर पश्चिमी क्षेत्रमा पनि तापक्रम निकै बढेको छ । तातो हावाका कारण अमेरिकाका यी क्षेत्रमा पनि केही मानिसको ज्यान गएको बताइएको छ ।

तातो हावाका कारण ब्रिटिश कोलम्बिया क्षेत्रमा जनजीवन नै प्रभावित भएको छ । ब्रिटिश कोलम्बिया प्रान्तको लिटन गाउँमा सबैभन्दा धेरै तापक्रम देखिएको छ । उक्त गाउँका स्थानीयहरुका अनुसार अहिले सो गाउँबाट मानिसहरु बाहिर निस्किन सक्ने अवस्था देखिएको छैन ।

क्यानाडाको भ्यानकुभरमा मात्रै गत शुक्रबारयता ६५ जनाको मृत्यु भएको बताइएको छ । यसरी मृत्यु हुनुमा अत्यधिक गर्मी नै प्रमुख कारण रहेको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीको भनाई छ ।

प्रतिक्रिया