६ सय बढी घर पहिरोको उच्च जोखिममा : सोलुखुम्बु
अखबार टुडे
प्रकाशित:
२०७८, १७ असार

सोलुखुम्बु, १७ असार । सोलुखुम्बुमा ६ सयभन्दा बढी घर पहिरोको उच्च जोखिमा परेका छन् ।
सोलुदुधकुण्ड नगरपालिका–७ गार्मामा २५ घर पहिरोको जोखिममा रहेका नगरपालिकाले जनाएको छ । यस्तै वडा नम्बर १ को नुनथला बजार र सोलुखोला आसपासका क्षेत्रमा पनि जोखिम रहेको मेयर नाम्गेल जाङ्बु शेर्पाले बताए ।
यस्तै, थुलुङ दुध कोशी गाउँपालिकाको वडा नम्बर ७ को लुरुवा, वडा नम्बर ९ को लिखेप, फलाटे, वडा वडा नम्बर ३ पञ्चन, वडा नम्बर १ नेलेका ५० भन्दा बढी घर पहिरोको उच्च जोखिममा रहेको गाउँपालिकाले जनाएको छ ।
लिखुपिके गाउँपालिकामा पनि झण्डै ५५ घर पहिरोको जोखिममा परेका गाउँपालिका अध्यक्ष डम्बरबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार गाउँपालिकाको मेस्की र एर्माखुमा गरी ५५ घर पहिरोको जोखिममा परेका छन् ।
राहत तथा उद्धारका लागि हरेक वडा वडामा उद्धार सामग्री, राहत लगायतका सामग्रीको व्यवस्थापन भइसकेको छ । माप्य दुध कोशी गाउँपालिकाको वाप्सामा रहेको तामाखानी क्षेत्र, बोधु, अँधेरी, लगायतका ३ सयभन्दा बढी घर पहिरोको जोखिममा रहेको गाउँपालिका प्रवक्ता तेजबहादुर मगरले जानकारी दिए ।
सोताङ गाउँपालिकामा भने ४ घरधुरी जोखिममा रहेका गाउँपालिकाले जनाएको छ । खुम्बुपासाङ ल्हामु गाउँपालिकामा खुम्जुङ, खुन्दे, इम्जा र फेरुचे लगायतका क्षेत्रमा पहिरोको जोखिम रहेको गाउँपालिकाले जनाएको छ । नेचा सल्यान गाउँपालिकाको बतासे, पातीखर्क र बोरोरे क्षेत्रमा पहिरोको जोखिम रहेको गाउँपालिका प्रवक्ता धर्मध्वज खत्रीले जानकारी दिए ।

प्रतिक्रिया