काठमाडौं, १६ असार । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी भंग भएको छ । बुधवार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले नेकपा एकतापछि स्थायी कमिटीमा समेटिएका एमालेका चार र माओवादीका चार नेतालाई थप गरेको छ ।
महाधिवेशन आयोजक कमिटी खारेजसँगै माधव नेपालसहित ११ जना नेतामाथि यसअघि गरिएको कारबाहीसमेत निष्क्रिय भएको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
सर्वोच्च अदालतको पछिल्लो आदेशअनुसार सबै कारवाही निस्प्रभावी भएको प्रवक्ता प्रदीप ज्ञवालीले बताए । आज भएको महाधिवेशन आयोजक कमिटीको अन्तिम वैठकपछि बोल्दै ज्ञवालीले सो जानकारी दिएका हुन् ।
नेकपा एकता प्रक्रियामा एमालेबाट थपिएका रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्तसहित माओवादीतर्फ नलागी एमालेमा समाहित भएका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लवेखराज भट्ट, मणि थापा स्थायी कमिटी सदस्य बनेका छन् । यसअघि एमालेका पदाधिकारीहरू यथावत रहने निर्णय भएको छ ।