काठमाडौं, १६ असार । एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गर्ने तयारी गरिएको छ । त्यसका लागि आज बालुवाटारमा बैठक बस्दैछ । आजस बस्ने अन्तिम बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई समेत बोलाइएको छ । बैठकबाट दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरी केन्द्रीय कमिटी कायम गर्ने तयारी गरिएको हो ।
तर माधव नेपाल समूहले भने वैधता नरहेको बैठकमा कसैलाई बोलाउनु वा नबोलाउनुको अर्थ नरहने बताइसकेका छन् । ‘एमालेको नवौं महाधिवेशनबाट पारित विधानले महाधिवेशनबाट छानिएको कमिटी मात्रै चिन्दछ । आयोजक कमिटीको कुनै वैधता छैन’ माधव नेपाल निकट नेता गोकर्ण विष्ट भन्छन् ।
वैधता नरहेको कमिटीको बैठकबारे थप प्रतिक्रियाको आवश्यकता नरहेको पनि उनले बताए । गएको २८ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले नवौं महाधिवेशनबाट निर्वाचित नेतृत्व खारेज गरी दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेका थिए ।