गायिका अमृताको खुलासा, ‘तिम्रो लागि मर्न तयार छु भन्नेहरु पनि आए’
अखबार टुडे
प्रकाशित:
२०७८, १५ असार

काठमाडौं, १५ असार । प्रेम र विवाह मानव जीवनका लागि अपरिहार्य हो । तर, प्रेम वा विवाह भनेजस्तो सरल र सहज भने छैन । विशेषगरी सेलिब्रेटीमाझ एउटा भनाइ नै छ, ‘मन नपरेकाले मन पराउँछन्, मन पराएकाले मन पराउँदैनन् ।’ यस्तै कारण कतिपय सेलिब्रेटीहरु अविवाहित बसेका छन् ।

गायिका तथा मोडल अमृता लिम्बूलाई पनि ठ्याक्कै यस्तै भएको छ । गायिका अमृता भन्छिन्, ‘विवाह गर्छु भनेरमात्र हुँदैन । मन मिल्ने पनि भेट्नु पर्यो नि ।’ आफू सिंगल हुनुको कारण खुलाउँदै उनले भनिन्, ‘मन नपरेकाले मन पराउँछन्, मन पराएकाले मन पराउँदैनन् ।’
यसो भनिरहँदा अमृताले आफू चुँजी रहेको समेत सुनाइन् । ‘मलाई पे्रमको अफर नआएको होइन’ उनले भनिन्, ‘तिम्रो लागि मर्न पनि तयार छु भन्नेहरु पनि आए, तर म चुँजी छु । त्यसैले पनि संयोग नजुरेको हुनुपर्छ ।’

सधैँ गायन र मोडलिङ करिअरबारे गफिने अमृता यसपटक भने प्रेम र विवाहबारे मज्जाले खुलिन् । प्रेम र विवाहकै प्रशंगमा कुरा गर्दै जाँदा लकडाउनको बेला आफूले अनुभव गरेको पीडासमेत सुनाइन् । हालैमात्र कोरोना संक्रमणमुक्त भएकी अमृताले भनिन्, ‘यसपटक सिंगल हुनुको पीडासमेत अनुभव गरेँ । विमारी हुँदाखेरी कोही तातोपानी तताएर दिनेसमेत नहुँदा एक्लो फिल हुने रहेछ । यदि विवाह गरेको भए त्यो महशुस हुँदैनथ्यो ।’

गायिका तथा मोडल अमृतालाई कतिपयले घमण्डी समेत भन्ने गर्छन् । तर, उनी आफू घमण्डी नभएको बताउँछिन् । ‘नचाहिँदो कुरामा जसलाई पनि रिस उठ्छ’ उनले भनिन्, ‘तर, बजारमा हल्ला गरिएजस्तो घमण्डी छैन ।’ उनले यतिचाहिँ स्वीकारिन् कि, रिस भने थामिनसक्नु उठ्छ रे । अमृताले भनिन्, ‘रिस उठ्दैन, उठ्दैन, उठिसकेपछि थामिनसक्नु रिस उठ्छ ।’

अमृता भन्छिन्, ‘विष विनाको सर्प र रिस विनाको मान्छे काम लाग्दैन भन्ने भनाइ नै छ, तर, यसो भन्दैमा नचाहिँदो कुरामा कोही रिसाउँदैन । मेरो बानी पनि त्यही हो ।’

आफ्नो कल्चरप्रति समेत सजग अमृता भन्छिन्, ‘मलाई लिम्बू भाषा राम्ररी बोल्न आउँछ ।’ पाँचथरको रानीगाउँमा जन्मिएकी अमृताले धाननाचको अनुभव सुनाउँदै भनिन्, ‘लिम्बूहको धाननाच पनि नाचेकी छु । हेरौँ भाग्यले विवाह पनि आफ्नै समुदायकै केटासँग पो जुराउने हो कि ?’

सन् २०१४ देखि गीत संगीत क्षेत्रमा निरन्तर सक्रिय रहेकी अमृता आफूले भनेजस्तो कथावस्तुको फिल्ममा अफर आए अभिनय गर्ने सोचमा छिन् । ‘मेरो रुचि अभिनयमा पनि छ’ उनले भनिन्, ‘तर, जस्तोसुकै फिल्ममा काम गर्ने मन छैन ।’

प्रतिक्रिया