अदालतको अपहेलना मुद्दामा दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपतिलाई १५ महिनाको जेल सजाय
अखबार टुडे
प्रकाशित:
२०७८, १५ असार

केप टाउन, १५ असार (एजेन्सी) । दक्षिण अफ्रिकाको पूर्वराष्ट्रपति ज्याकोब जुमालाई मंगलबार त्याहाँको सर्वोच्च अदालतले १५ महिनाको जेल सजाय सुनाएको छ । न्यूयोर्क टाइम्सका अनुसार ७९ वर्षीय जुमालाई अदालतको अपहेलना गरेको मुद्दामा १५ महिनाको जेल सजाय सुनाएको हो ।
सन् २००९ देखि २०१८ सम्मको कार्यकालमा रहँदा भएको वित्तीय घोटालामा उनलाई अदालतमा उपस्थित हुन आदेश दिएको थियो । तर आदेशको उपेक्षा गर्दै अदालतमा उपस्थित हुन नमानेपछि अदालतको अपहेलना मुद्दा लागेको थियो । सोही मुद्दामा अदालतले पूर्वराष्ट्रपति जुमालाई १५ महिना जेल सजाय सुनाएको हो ।

जुमा नेल्सन मन्डेलाका मित्र थिए भने अफ्रिकन नेशनल कंग्रेस पार्टीका नेता थिए । उनलाई जेल सजाय सुनाउँदासमेत जुमा मंगलबार अदालतमा उपस्थित भएका थिएनन् । र उनलाई तत्काल नियन्त्रणमा लिइएको थिएन ।

उनलाई भ्रष्टाचार भएको मुद्दामा अदालतका उप–प्रधानन्यायाधीश रेमोन्ड जोन्डोले पाँच महिनाअघि अदालतमा उपस्थित हुन आदेश दिएका थिए । तर जुमाले सो आदेश मानेनन्, बरू बेवास्ता गर्दै बसे । ‘अदालतको अपहेलना गरेको अपराधमा दोषी ठह¥याउनुबाहेक संवैधानिक अदालतले अरू केही गर्न सक्दैन,’ न्यायाधीश सिसी खाम्पेपेले भनिन् ।

जुमामाथि ठगी, भ्रष्टाचारलगायतका १६ वटा छुट्टाछुटै मुद्दा लागेको छ । सन् १९९९ मा फाइटर जेट, पेट्रोल डुंगा, मिलिटरी गियर लगायतको खरिदमा भ्रष्टाचार गरेको मुद्दा छ। उनीमाथि ४० मिलियन ¥यान्ड लिएको आरोप पनि लागेको छ ।

प्रतिक्रिया