
काठमाडौं, १४ असार । काठमाडौं उपत्यकामा थप खुकुलो प्रावधानका साथ एक हप्ता निषेधाज्ञा थपिएको छ । थपएिको निषेधाज्ञामा भोलिदेखि सार्वजनिक गाडी जोर बिजोर नम्बरका आधारमा सञ्चालन हुने भएको छ ।
काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बिहान बसेको बैठकले भोलिदेखि २५ सिटभन्दा ठूला सार्वजनिक गाडीलाई सञ्चालन गर्न दिने निर्णय गरेको हो । उपत्यकामा ट्याक्सी तथा निजी गाडी भने अघिल्लो हप्तादेखि नै सञ्चालनमा आइसकेका छन् ।
कोरोना सङ्क्रमणको जोखिम घटेको तर नहटेकाले प्रतिबन्धहरुलाई केही खुकुलो बनाउँदै एक हप्ताका लागि निषेधाज्ञा थप्ने निर्णय भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।
के–के खुल्ने र के बन्द हुने सम्बन्धमा मापदण्डहरु तयार गरेर जिल्ला प्रशासन कार्यालयहरुले आदेश जारी गर्नेछन् । काठमाण्डौ उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू भएको हो । पछिल्लो पटक थपिएको निषेधाज्ञा आज राति १२ बजेदेखि सकिँदैछ ।