प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा भोलिदेखि सरकार पक्षका वकिलले बहस गर्ने
अखबार टुडे
प्रकाशित:
२०७८, १३ असार

काठमाडौं, १३ असार । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा रिट निवेदक पक्षको बहस सकिएसँगै भोलिदेखि सरकार पक्षका वकिलको बहस हुने भएको छ । असार ९ गतेदेखि सुरु भएको रिट निवेदक शेरबहादुर देउवासहित १४६ सांसदको तर्फको बहस आइतबार सकिएको छ । बहसमा ३६ जना कानुन व्यवसायीले बहस गरेका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई सम्मिलित इजलासले संसद् विघटन मुद्दाको पक्ष र विपक्ष दुवै पक्षलाई १५÷१५ घण्टा बहसको समय तोकिदिएको थियो ।

संवैधानिक इजलासमार्फत भएको सुरुवाती बहसमा निवेदक पक्षले पाएको १५ घण्टामध्ये १२ घण्टा बहस गरेका छन् । बाँकी तीन घण्टा भने रिट निवेदकको विपक्षीले बहस गरेपछि जवाफी बहसका लागि छुट्याइएको छ ।

आज रिट निवेदकको पक्षबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, सतीशकृष्ण खरेल, अधिवक्ता भीमार्जुन आचार्यलगायतले बहस गरेका थिए । अब रिट निवेदकको विपक्ष अर्थात् सरकार पक्षका कानुन व्यवसायीहरुले भोलिदेखि बहस गर्नेछन् । उनीहरूले १५ घण्टाको समय पाउनेछन् ।

त्यस्तै एमिकस क्युरीका लागि दुई घण्टा समय तोकिएको छ । सरकार पक्षबाट महान्यायाधिवक्तासहित ११ अधिवक्ताले बहस गर्ने तय भएको छ । रिट निवेदक पक्षका कानुन व्यवसायीले बहस सकिएसँगै आजका लागि तोकिएको इजलासको सुनुवाइ पनि सकिएको छ ।

प्रतिक्रिया