जहाँ मुसुक्क हाँसेरमात्रै कार्यालय छिर्न पाइन्छ…!
अखबार टुडे
प्रकाशित:
२०७८, १३ असार

काठमाडौं, १३ असार । छिमेकी मुलुक चीनमा एउटा कम्पनीले आफ्ना कर्मचारीहरुलाई कार्यालयभित्र छिर्नका लागि साँच्चीकै मुस्कुराउन बाध्य पारेको छ ।

चीनस्थित क्यानन क्यामरा बनाउने कम्पनीको कार्यालयमा मुस्कान विना ढोकाबाट भित्रै छिर्न पाउँदैनन् कर्मचारीहरु । जो कर्मचारी ढोकामा गएर मुसुक्क मुस्कुराउँदैन, उसका लागि ढोकै खोल्दैन ।
कम्पनीले हालै आफ्नो कार्यालयमा आर्टिफिसियल इन्टेलिजेन्समा आधारित अनुहार पहिचान गर्ने अर्थात् फेस रिकग्नीसन प्रविधि जडान गरेको हो । जस अनुसार कार्यालयभित्र छिर्नका लागि कर्मचारीहरुले ढोका बाहिर रहेको उक्त मेसिनमा हेरेर मुस्कुराउनै पर्दछ, अनिमात्र ढोका खुल्दछ र कर्मचारी भित्र छिर्न पाउँदछन् ।
नमुस्कुराउने कर्मचारीलाई स्माइल रिकग्नीसन प्रविधिले भित्र प्रवेश नै दिँदैन । कार्यालय संस्कृतिलाई राम्रो बनाउन र कर्मचारीहरुको व्यवहारमा सुधार ल्याउनका लागि यस्तो प्रविधिको प्रयोग गरिएको क्याननले जनाएको छ । ताकि सबै कर्मचारीहरु कार्यालयमा हरेक दिन आफ्नो कामको सुरुआत गर्न अगाडि खुसी तथा पसन्न महसूस गरुन् ।
कतिपय चाहीँ यस्तो कदम आर्टिफिसियल इन्टेलिजेन्सबाट कर्मचारीको उच्च निगरानी गर्ने चिनियाँ कम्पनीहरुको प्रयासको हिस्सा रहेको भन्दै आलोचना पनि गरेका छन् ।
कतिपय कम्पनीहरुले आफ्ना कर्मचारीहरुले कति समय कम्प्युटरमा का मगर्दछन्, ब्रेकको बेला कति समय खर्च गर्दछन् जस्ता कुराहरुको निगरानी गर्नसमेत आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गर्ने गरेको बताइन्छ । कतिपय कम्पनीले त कार्यालय बाहिरका कर्मचारीका गतिविधिको समेत निगरानी गर्ने गर्दछन् । एजेन्सी

प्रतिक्रिया