कर्णालीको कटानमा सत्ती पुल, हजारौँको टुट्यो सम्पर्क
अखबार टुडे
प्रकाशित:
२०७८, १३ असार

टिकापुर, १३ असार । कर्णाली नदी कटानले कैलाली–बर्दिया जोडने हुलाकी राजमार्गको सत्ती पुल अवरुद्ध हुँदा हजारौँ नागरिकको सम्पर्क टुटेको छ । दैनिक हजारौँ नागरिक आवतजावत गर्ने उक्त पुलको स्ल्याब कटान भएपछि आवतजावत बन्द भएको हो ।

कर्णाली नदीमा पानीको बहाव बढेपछि पुलको स्ल्याब कटान भएको छ । सत्ती पुल भएर दैनिक हजारौँ नागरिक र सयौँ सवारीसाधन आवतजावत गर्ने गर्दथे । शनिबार दिउँसो कर्णाली नदीको पूर्वी भागमा पुलको स्ल्याब कटान गरेपछि हुलाकी राजमार्ग पूर्णतया अवरुद्ध भएको हो ।
कर्णाली नदीको बहाव पूर्वपट्टि हान्दै गएकाले पहिलेदेखि पुलको स्पान थप्नुपर्ने स्थानीयवासीको माग थियो । तर समयमै काम नहुँदा नदी कटानले बाटो अवरुद्ध भएको हो ।

नदीले पुलको स्ल्याब कटान भएपछि कैलाली र बर्दिया नियमित चल्ने बस तथा सवारी साधन वारि र पारि रोकिएका छन् । राजापुरका स्थानीयवासी विक्रम कायस्थ खेतीपातीको समयमा वारिपारि गर्ने नागरिकलाई अझ बढी समस्या भएको बताउँछन् ।
‘कैलालीका सयौँ नागरिकको खेतीपाती बर्दियामा छ । उनीहरु यो समयमा बिहान जाने, साँझ फर्कने गर्दथे’, कायस्थ भन्छन्, ‘उनीहरुलाई समस्या शुरु भएको छ । यसका साथै कैलालीको उत्पादन बर्दियामा बिक्री हुने र बर्दियाको कैलाली आउने व्यापारिक सामान समेत नसकिने भएको छ ।’

बर्दियाको राजापुरका अधिकांंश नागरिक उपचार र किनमेल जस्ता कार्य गर्न टीकापुर आउने गर्दछन् । पुल भत्किँदा यी सबैलाई समस्या भएको छ । पाँच वर्षअघि पुल निर्माण सम्पन्न भएकै वर्ष दुईवटा स्पान थप्नुपर्छ भन्ने माग भए पनि काम नभएपछि यस्तो अवस्था आएको टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाको भनाइ छ ।

‘हामीले पुल निर्माणकै क्रममा बर्दियातर्फ दुई स्पान थप्न आग्रह ग¥यौैँ, कसैले सुनेनन्’, उनले भने, ‘पाँच वर्षसम्म त निर्माण कम्पनीले हरेक बर्सात पुलपारि तटबन्ध गरेर पुल जोगायो तर गत वर्ष निर्माण कम्पनीको सम्झौता म्याद सकियो । यस वर्ष पुल नै रहेन ।’

वडाध्यक्ष ठुकल्लाले समयमै ध्यान नदिएकै कारण अहिले ठूलो क्षति भएको बताए । पुल भत्केपछि कैलाली र बर्दिया जिल्लाको व्यापारिक विकासमा वाधा पुगेको स्थानीयवासी बताउँछन् । आवतजावत बन्द हुँदा टीकापुर– ८ श्रीलंकामा बसिरहेका ४० परिवारसँगको सम्बन्धसमेत टुटेको छ ।

श्रीलंकामा वर्षे धान खेती गर्ने समयमा त्यहाँ आवतजावत गर्ने सम्पर्क टुटेको स्थानीयवासी रमा बुढाले बताए । ‘हामी टीकापुर बस्छौँ तर खेतीपाती उतै छ । खेती गर्ने समयमा अब कसरी जानु ?’, उनले भने, ‘श्रीलङ्कामा सयौँ बिघा खेतीयोग्य जमीन छ । अब मानिसलाई दुःख हुने भयो ।’

राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद चौधरीले अब विकल्पका रूपमा पुलबाट करिब पाँच किलोमिटर उत्तरको दौलतपुर घाटस्थित डुङ्गाबाट आवातजावत गर्नुपर्ने अवस्था आएको बताए ।

प्रतिक्रिया