मोडल अनितासँग अन्तरकुन्तर : भन्छिन्, ‘त्यसपछि आईटिभी-२ पुगेँ’
अखबार टुडे
प्रकाशित:
२०७८, १२ असार

काठमाडौं, १२ असार । मोडल अनिता लिम्बू गएको साता एकाएक चर्चामा आइन् । बेलायतमा मोडलिङ गर्दै आएकी अनिता स्थानीय ‘आईटिभी–टू’ च्यानलबाट प्रशारित रियालिटी शो ‘सिक्रेट क्रस’मा सहभागिता भएपछि चर्चामा मात्र आइनन्, धेरैको मन जित्नसमेत सफल भइन् । पूर्वी नेपालको ताप्लेजुङमा जन्मिएकी अनिताले लण्डनमा आयोजना हुने अन्तर्राष्ट्रिय विग फेसन शोहरुमा मोडलिङ गरिसकेकी छन् । उनी भन्छिन्, ‘डान्स र मोडलिङ मेरो सानैदेखिको प्यासन हो ।’ ¥याम्प शोबाट मोडलिङ शुरु गरेकी अनिताले ‘अक्सफोर्ड फेशन विक’, ‘लण्डन फेशन शो’जस्ता ठूला इभेन्टहरुमा आफ्नो कला देखाइसकेकी छन् । विभिन्न म्युजिक भिडियोमा समेत मोडलिङ गर्दै आइरहेकी पाँच फिट ७ इञ्च उचाइकी अनिता लिम्बूसँग कुराकानीको सारसंक्षेप :

हिजोआज के गर्दै हुनुहुन्छ ?
– नर्मल कामकाजीमै व्यस्त छु । कोरोना संक्रमणका कारण मोडलिङको कामहरु रोकिएका छन् । भर्खरै एउटा टिभी शोमा पार्टिसिपेन्ट भएकी थिएँ ।

टिभी शोमा तपाइँको निकै चर्चा चल्यो । त्यो कस्तो शो हो ?
– रियालिटी शो हो । सिधै भन्नुपर्दा ‘डेटिङ शो’ हो । आफूले कतै देखेको व्यक्ति मन परेर पनि मनको फिलिङ्स बताउन नसकिरहेको अवस्था हुन्छ । त्यो फिलिङ्स उक्त शोमा सुनाउनु पर्नेथियो ।

तपाइँको फिलिङ्समा को थियो ?
– म सँग त्यस्तो फिलिङ्स थिएन । तर, एकजना व्यक्ति म बाट प्रभावित हुनुभएको रहेछ । लण्डनमै एउटा बलिउड फिल्मको सुटिङमा उहाँले मलाई देख्नुभएको रहेछ । त्यो कुरा उहाँले शोमा बताउनुभयो ।

उहाँले के भन्नुभयो ?
– मलाई तपाइँ राम्रो लाग्छ । मनपर्छ भन्नुभयो । तर, म सँग त्यो फिलिङ्स थिएन । त्यसैले साथीको रुपमा मात्र स्वीकारेँ ।

मन पराइएको व्यक्तिलाई शोमा प्रेम प्रस्ताव राखिन्छ, त्यो रियल हो ?
– हो, रियल लाइफमा मन पराइएको व्यक्तिलाई नै टिभी शोमार्फत प्रस्ताव राख्ने हो । आफ्नो फिलिङ्स सुनाउनुको अर्थ नै यही हो ।

शोमा कसरी पार्टिसिपेन्ट हुन पुग्नुभयो ?
– उक्त शोको कास्टिङ एजेन्टले मलाई सामाजिक सञ्जाल इन्स्टामा देख्नुभएको रहेछ । उहाँले नै रियालिटी शो हुँदैछ, सहभागी हुने भने आउनुस् भन्नुभयो । म गएँ, अडिसनमा पास भएपछि पार्टिसिपेन्ट भएकी हुँ ।

रियालिटी शोमा सहभागी भएर फाइदा के भयो ?
– मेरो मोडलिङ करिअरमा प्लसप्वाइन्ट भयो । ‘आईटिभी–२’ भनेको बेलायतको लोकल टिभी च्यानल हो । अहिलेसम्म उक्त टिभीमा कोही नेपाली पुगेका थिएनन् । मैले त्यो अवसर पाएँ । अर्को कुरा एउटा राम्रो ब्राण्डसँग जोडिने मौका पाएँ । र, आफूलाई युकेमा थप चिनाउने अवसर मिल्यो । यो मेरो लागि खुसीको कुरा हो ।

नेपालमा फिल्म गर्ने कुरा थियो । त्यो योजना के हुँदैछ ?
– फिल्मका लागि प्रस्तावहरु आइरहेका छन् । तर, मलाई मनपर्ने फिल्महरु आएको छैन । त्यसैले फिल्म खेल्ने कुरा अहिले नै भन्न सक्दिनँ ।

कस्तो फिल्ममा प्रस्ताव आए काम गर्नुहुन्छ ?
– सबैभन्दा पहिलो कुरा, कथावस्तु र स्क्रिप्ट राम्रो हुनुप¥यो । त्यसपछि ब्यानर र टिम पनि राम्रो हुनुपर्छ जबकि, काम गर्दा सहज होस् ।

नेपाल आएर मोडलिङ गर्ने सोच छ कि छैन ?
– नेपालमै बसेर मोडलिङ गर्छु भन्ने सोचेकी छैन । युकेमै बस्ने भएकाले यतै मोडलिङ गर्छु । तर, नेपाल आएको बेला चान्स आइहाल्यो भनेचाहिँ गर्छु ।

युकेमा मोडलिङ करिअर बनाउन सम्भव छ ?
– सम्भव छ, तर आफूमा कमिटमेन्ट एकदमै धेरै हुनुपर्छ । यहाँ प्रतिस्पर्धा धेरै हुन्छ । आफू बेस्ट भइयो भने करिअर बनाउन सकिन्छ, रहरमात्र हो भने गाह्रो छ । -दृष्टिबाट

प्रतिक्रिया