सार्वजनिक यातायात सञ्चालन गर्न उपत्यकाका तीन वटै प्रशासन सकारात्मक
अखबार टुडे
प्रकाशित:
२०७८, १२ असार

काठमाडौं, १२ असार । स्वास्थ्य मापदण्ड पूरा गरेर सार्वजनिक यातायात सञ्चालन गर्न प्रशासन सकारात्मक भएको छ । यही १४ गते पछिल्लो निषेधाज्ञाको समय सकिँदैछ । त्यसपछि कसरी सुरक्षित रुपमा यातायात सञ्चालन गर्ने भन्ने विषयमा विशेषगरी काठमाण्डौ उपत्यकाका तीन वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीले छलफल थालेका हुन् ।

असार १४ गतेपछि स्वास्थ्य मापदण्ड अपनाएर नयाँ मोडालिटीका साथ यातायात सञ्चालन गर्ने तयारीका साथ विभिन्न निकायसँग छलफल सुरु गरेको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजालले जानकारी दिए ।

गएको बिहीवार स्वास्थ्य मन्त्रालय, यातायात व्यवस्था विभाग, यातायात मजदुर, यातायात व्यवसायी र प्रमुख जिल्ला अधिकारीहरुबीच यातायात सञ्चालन गर्ने सम्बन्धमा भएको छलफलमा १७ गतेदेखि आन्तरिक उडान पनि सञ्चालन हुने भएकाले सार्वजनिक यातायात पनि खुलाउने विषयले प्राथमिकता पाएको थियो ।

जोर बिजोर या सङ्ख्या नै तोकेर गाडी चलाउन सकिने विषयमा प्रमुख जिल्ला अधिकारीहरु सकारात्मक देखिएका छन् । तर पहिले महामारीपछि गाडी खुल्दा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नभएको भन्दै अब त्यस्तो हुन नदिइने प्रजिअ रिजालले जानकारी दिए ।

यातायात व्यवसायीको माग र मोडालिटी तय गरेर यातायात सञ्चालनको लागि सीसीएमसीमा प्रस्ताव लैजाने तर कहिले खुल्छ भनेर ठ्याक्कै भन्न नसकिने उनले बताए ।

नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष भीमज्वाला राईले यातायात मजदुरहरु बिचल्लीमा परेको भन्दै कि त यातायात खुलाउनुपर्ने नत्र सबैलाई राहत दिनुपर्ने माग गरेको छ ।

प्रतिक्रिया