काठमाडौं, ११ असार । सञ्चार क्षेत्रका विज्ञ तथा पत्रकारले स्वास्थ्य जोखिममा राखेर कार्यक्षेत्रमा खटिने पत्रकारको सुरक्षाका लागि कोरोना खोप दिनुपर्ने माग गरेका छन् ।
प्रेस काउन्सिल नेपालले शुक्रबार आयोजना गरेको कोभिड–१९ महामारीमा पत्रकार र सञ्चारमाध्यमको अवस्था र आचारसंहिता पालना सम्बन्धमा वाग्मती प्रदेशस्तरीय ‘भर्चुअल’ कार्यक्रममा उनीहरुले पत्रकारलाई आर्थिक सहयोग गर्नुपर्ने, काउन्सिलले प्रदान गर्ने राहत बढाउनुपर्ने र अनलाइनलाई लोककल्याणकारी विज्ञापनका लागि पहल गर्नुपर्नेमा जोड दिए ।
पत्रकारको प्रेस पासको व्यवस्था जिल्लाबाटै हुनुपर्ने र पत्रपत्रिका वर्गीकरणको नतिजा समयमै सार्वजनिक गर्नुपर्ने पनि पत्रकारको माग थियो ।
काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सातै प्रदेशबाट सुझाव संकलन गरी प्रतिवेदन बनाएर छिट्टै पत्रकारको पक्षमा निर्णय गरिने प्रतिबद्धता व्यक्त गर्दै लेखनवृत्तिमार्फत पत्रकारलाई दिइँदै आएको सुविधा बढाइने र बिरामी पत्रकारको उपचारार्थ औषधोपचारमा सहयोग गरिने जानकारी दिए ।
काउन्सिल सदस्य चिरञ्जीवी मास्केले श्रमजीवी पत्रकारलाई महामारीका समयमा रोजगारीबाट निकाल्ने, तलब नदिनेजस्ता गतिविधि भएकामा चिन्ता व्यक्त गर्दै विज्ञापनको भुक्तानी समयमा नहुँदा सञ्चारगृह समस्यामा परेको बताए ।