गर्भवती र सुत्केरीलाई निःशुल्क क्याल्सियम चक्की
अखबार टुडे
प्रकाशित:
२०७८, १० असार


खोटाङ, १० । हलेसी तुवाचुङ नगरपालिकाले गर्भवती र सुत्केरीलाई क्याल्सियम चक्की निःशुल्क वितरण कार्यक्रम शुरु गरेको छ ।
आमा र बच्चाको स्वास्थ्यलाई ध्यान दिँदै नगरपालिकाले बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तरगत नगरपालिकाभित्रका सबै गर्भवती र सुत्केरीलाई उनीहरुको घरैमा पुगेर क्याल्सियम चक्की निःशुल्क वितरण कार्यक्रम शुरु गरेको हो ।

एघार वडा रहेको नगरपालिकाका सबै आमा र बच्चाको शरीरमा पोषणको अभाव हुन नदिन निःशुल्क क्याल्सियम चक्की वितरण शुरु गरिएको नगर प्रमुख इवन राईले बताएका छन् । “क्याल्सियम चक्की ११ वटै वडाका स्वास्थ्यचौकीमार्फत वितरण भइरहेको छ”, उनले भने, “नगरपालिकाभित्रका ५५० गर्भवती तथा सुत्केरीलाई लक्षित गर्दै क्याल्सियम चक्की निःशुल्क वितरणको व्यवस्था मिलाइएको हो ।”

स्वास्थ्यकर्मीकोे परामर्शमा हालसम्म आफैँ किनेर क्याल्सियम चक्की खाइरहेका गर्भवती तथा सुत्केरीलाई यसपल्टदेखि नगरपालिकाले निःशुल्क उपलब्ध गराउन शुरु गरेको नगर स्वास्थ्य शाखा संयोजक प्रकाश घिमिरेले बताए । संयोजक घिमिरेका अनुसार एक जना गर्भवतीले सुत्केरी भएको ४५ दिनसम्म २२५ चक्की क्याल्सियम खानुपर्ने हुन्छ ।
बजारमा प्रतिक्याल्सियम चक्कीको मूल्य औसतमा रु छ पर्ने गरेको छ । जिल्लामा आफ्नो तथा बच्चाको स्वास्थ्यप्रति सचेत गर्भवती र सुत्केरीले क्याल्सियम चक्की किनेर खाने गरे पनि दूरदराजका अधिकांश गर्भवती र सुत्केरी नियमित क्याल्सियम चक्की खानबाट वञ्चित छन् ।
कतिपयलाई गर्भवती र सुत्केरीलाई क्याल्सियम चक्की खानुपर्ने जानकारी नै नभएको अवस्थामा नगरपालिकाले निःशुल्क क्याल्सियम चक्की वितरण शुरु गरेपछि उनीहरु लाभान्वित भएका छन् । आमा र बच्चाको स्वास्थ्यका लागि नभई नहुने क्याल्सियम चक्कीको अभाव नहोस् र क्याल्सियम चक्कीबाट कोही पनि वञ्चित नहुन् भनेर निःशुल्क वितरणको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले केही समयअघि गर्भवती तथा सुत्केरीलाई निःशुल्क क्याल्सियम चक्की वितरण गर्ने निर्णय गरेको थियो । दश स्थानीय तह रहेको जिल्लामा यसअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पनि क्याल्सियम चक्की निःशुल्क वितरण कार्यक्रम शुरु गरेको थियो ।

प्रतिक्रिया