
काठमाडौं, ९ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक हवाई उडान १७ असारबाट ५० प्रतिशतले नबढ्नेगरी सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
मन्त्रालयले बुधवार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभिन्न वायुसेवा कम्पनीहरुलाई दुईतर्फी उडान स्वीकृति प्रदान गर्ने विषयमा पत्राचार गरेर यस्तो जानकारी गराएको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए ।
आन्तरिक उडानका लागि तोकिएका गन्तव्यहरूको विवरण भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सुझाव प्राप्त भएपछि पत्राचार गरिने जनाइएको छ ।
यसअघि आन्तरिक उडान सञ्चालन गर्न अनुमति दिएपछि निजी वायुसेवा कम्पनीहरूले कार्यतालिकालाई स्वीकृत गराएर तत्कालै देशभित्रको उडान थाल्न सक्ने अधिकारीहरूले बताएका थिए । सोमबार मन्त्रिपरिषद्को बैठकले आन्तरिक उडान सञ्चालनको व्यवस्था मिलाउने जिम्मेवारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई दिएको थियो ।
नागरिक उड्डयन प्राधिकरणका प्रवक्ताले निजी वायुसेवा कम्पनीले तत्कालै उडान कार्यतालिकाका लागि आवेदन दिन सक्ने भन्दै आन्तरिक उडान खुला भइसकेको बताए ।
वायुसेवाका एक सञ्चालकले उडानको संख्यामा सीमित गर्ने सरकारको निर्णय कार्यान्वयन गर्न आफूहरू तयार भएपनि क्रमशः त्यो बढ्दै गएको हेर्न आफूहरूले जनाएको छ ।
यस्तै, सोमबारको मन्त्रिपरिषद्को बैठकले आन्तरिक उडान खोल्नेबाहेक लकडाउनका कारण प्रभावित बनेको अन्तर्राष्ट्रिय उडानको सङ्ख्या पनि वृद्धि गर्ने निर्णय गरेको थियो । त्यसमा काठमाडौंबाट दोहामा सातामा चारवटा, इस्तानबुलमा सातामा दुईवटा, दुबईमा सातामा चारवटा र दमाममा सातामा दुईवटा उडान गर्ने भनिएको छ ।
साथै, कुवेत सिटीमा हप्तामा दुईवटा उडान, मस्कटमा एउटा, क्वालालम्पुरमा चारवटा, सोल तथा टोकियोमा एक–एकवटा उडान गर्ने भनिएको छ । चीनको छेङ्दु र ग्वाङ्जाओमा हप्ताको दुई–दुईवटा उडान गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रेषित गरिएको पत्रमा उल्लेख छ ।
प्राधिकरणका प्रवक्ता क्षेत्रीले अन्तर्राष्ट्रिय उडान तालिकाका लागि नेपाल वायुसेवा निगम र अरू विदेशी विमानसेवाले निवेदन दिनुपर्ने बताए । यसअघि खाडी देशहरू र मलेशियामा रहेका कामदारको सहजताका लागि त्यहाँ नियमित उडानहरू सुरु गर्न सरकारमाथि दबाव बढेको थियो ।