प्रतिनिधिसभा विघटन मुद्धा : संवैधानिक इजलासमा बहस सुरु
अखबार टुडे
प्रकाशित:
२०७८, ९ असार

काठमाडौं, ९ असार । प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ को ५ अनुसार सरकार गठनको विषयमा परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश ईश्वरप्रसाद खतिवडाले बहसका लागि १५ घण्टाको समयसीमाबारे कानुन व्यवसायीहरुलाई स्मरण गराएका छन् । आजबाट निरन्तर बहस हुने सर्वोच्चले जनाएको छ ।

इजलासले सुनुवाईलाई व्यवस्थापन गर्न रिट निवेदक पक्षलाई सुरुमा १२ घण्टा र जवाफी बहसका लागि ३ घण्टा गरी कुल १५ घण्टा समय दिएको छ । निवेदकका तर्फबाट बुधबार ५ जना कानून व्यवसायीले बहस गर्र्दैछन् । इजलासले दैनिक ४ घण्टा बहस हुने जनाएकाले सोहीअनुसार व्यवस्थापन गरिएको अधिवक्ता खम्मबहादुर खातीले जानकारी दिए । नेपाल बार एशोसियसनका पूर्वमहासचिव खम्मबहादुर खातीले मुद्धाको तथ्यबारे बहस गर्नेछन् । त्यस्तै अधिवक्ता गोविन्द बन्दीले रिट निवेदनको मुख्य विषयवस्तुबारे बहस गर्नेछन् । उनलाई ४० मिनेट समय दिइएको छ ।

पूर्वमहान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता महादेव यादवले संविधानको धारा ७६ ९४० देखिका प्रावधानहरुबारे ३० मिनेटको समयमा बहस सक्नेछन् । त्यसपछि वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीलाई १ घण्टाको समय तोकिएको छ । उनले मुद्धाको समग्र विषयबारे बहस गर्नेछन् ।

प्रतिक्रिया