बाढी पहिराको वितण्डा : पाँच दिनमा १६ जनाको मृत्यु, २२ बेपत्ता
अखबार टुडे
प्रकाशित:
२०७८, ५ असार


दुई हजारभन्दा बढी विस्थापित

काठमाडौं, ५ असार । पछिल्लो पाँच दिनयता लगातार अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी १६ जनाको मृत्यु भएको छ । यस्तै, अन्य २२ जना सम्पर्कविहीन र १६ जना घाइते भएका छन् ।

गृहमन्त्रालयका अनुसार मृत्यु हुनेमा सिन्धुपाल्चोक र डोटीमा तीन–तीन तथा सप्तरी, काभ्रे, गोरखा, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालिकोट, प्युठान र बाजुरामा एक–एक जना रहेकँ छन् । बाढी, पहिरो र डुबानमा परी अहिलेसम्म १६ जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । तीमध्ये १० पुरुष चार महिला र दुई बालिका छन् ।

यस्तै, बेपत्ता २२ जनामध्ये सबैभन्दा बढी सिन्धुपाल्चोकमा २० जना रहेका छन् भने बाजुरा र रुपन्देहीमा एक–एक जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

असार १ गते आएको बाढी तथा पहिरोबाट सिन्धुपाल्चोकमा ९४ र सल्यानबाट आठ जना गरी १०२ जनाको उद्धार भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस्तै, यार्सागुम्बा टिप्न गएका मनाङका ७० जनाको पनि शुक्रबार उद्धार गरिएको प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले बताएका छन् ।

पहिरो तथा बाढीका कारण बन्द भएका विभिन्न स्थानका सडक सुरक्षाकर्मीको सहयोगमा सञ्चालनमा ल्याइएको छ । साथै, वर्षाका कारण दार्चुला, हुम्ला, सुर्खेत, कालिकोट, सल्यान, दैलेखलगायतका जिल्लामा पहिरो गई अवरोध भएको सडक खुलाउने प्रयास जारी छ ।

यस्तै, यो पाँच दिनमा बाढी पहिराका कारण १९९ वटा घरमा क्षति भएको जनाइएको छ । कुल १२ वटा पुल, एक विद्यालय र सात सरकारी कार्यालयमा क्षति पुगेको बताइएको छ ।

हालसम्म प्राप्त विवरणअनुसार ५२८ घरका एक हजार ७६० जना मानिस विस्थापित भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यहीबीचमा ५१६ पशु चौपायको मृत्यु भएको छ ।

बाढी र पहिरोको कारण सिन्धुपाल्चोकका इलाका प्रहरी कार्यालय हेलम्बु र प्रहरी चौकी तालामाराङ स्थानान्तरण गरिएको छ । उक्त घटनाबाट प्रभावित स्थानमा भएको क्षति न्यूनीकरण र उद्धारमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारी सक्रिय रहेका छन् ।

प्रतिक्रिया