गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत
अखबार टुडे
प्रकाशित:
२०७८, ४ असार

पोखरा, ४ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वास मत पाएका छन् । मुख्यमन्त्री पोखरेलले सरकार गठन भएको एक हप्ता नवित्दै शुक्रबार विश्वासको मतको प्रस्ताव पेस गरेका थिए ।
शुक्रबार प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पोखरेलले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३१ मत खसेको हो । प्रस्तावको विपक्षमा २७ मत खसेको छ । प्रदेशसभा बैठकमा ५८ सांसद उपस्थित थिए ।
प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले विश्वासको मतसम्बन्धी प्रस्तावमाथि भएको मतविभाजनको परिणाम घोषणा गर्दै मुख्यमन्त्री पोखरेलद्वारा पेस गरिएको प्रस्ताव प्रदेशसभाको बहुमतबाट पारित भएको घोषणा गरे ।
मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्री पोखरेलले प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका हुन् । उनी गत जेठ २९ गते संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् ।

प्रतिक्रिया