गाईवस्तु चराउन जाँदा बेपत्ता भनिएका ७ जनाको सकुशल उद्दार
अखबार टुडे
प्रकाशित:
२०७८, ४ असार

सुर्खेत, ४ असार । जाजरकोटको कुसे पाटनमा हावाहुरी चलेपछि हराएका भनिएका सातै जनाको उद्धार गरिएको छ । शुक्रबार बिहान प्रहरी र स्थानीयको टोलीले उनीहरूलाई सकुशल उद्धार गरेको हो ।
जाजरकोट प्रहरी प्रमुख डीएसपी मधुकुमार थापाअनुसार उनीहरुको चार दिनपछि सकुशल गरिएको हो । उनीहरु चसोले कठाङग्रिएको अवस्थामा भेटिएका उनले बताए ।
कुसे गाउँपालिका वडा नम्बर ८ र ९ का सात जना स्थानीय गाई, भैँसी र बाख्रालगायत पशुचौपाया चराउन पाटन गएका बेला पाटनको जलजलाबाट बेपत्ता भएका थिए ।
बेपत्ता रहेका कुसे गाउँपालिका–८, औलरिजाका ३५ वर्षीय डिलबहादुर खड्का, २८ वर्षीय चन्द्र खड्का, २५ वर्षीय बिक्रम खड्का, १८ वर्षीय भवीन्द्र खड्का, १० वर्षीय धनसरा खड्का, १२ वर्षीय मिमबहादुर खड्का र कुसे–९, का ४० वर्षीय कृष्ण रोकायाको शुक्रबार बिहान उद्धार गरिएको प्रहरीले जनाएको छ ।
कुसे पाटन ४ हजारदेखि ४ हजार ८०० मिटरको उचाइमा रहेको छ । जहाँ फोनको नेटवर्क समेत राम्रोसँग टिप्दैन ।

प्रतिक्रिया