‘म करिअरलाई माया गर्छु’
अखबार टुडे
प्रकाशित:
२०७८, १ असार

कोरियोग्राफर तथा मोडल आरजु बैंजू कलाकारितामै करिअर देखिन्छन् । सर्लाही लालबन्दकी आरजु नेपाली फिल्म क्षेत्रको सबैभन्दा कान्छी कोरियोग्राफरसमेत हुन् । २०औँ बसन्तमा हिँडिरहेकी आरजु दुई वर्षयता नेपाली फिल्महरुमा कोरियोग्राफी गर्दै आएकी छन् । नृत्य भनेपछि हुरुक्कै हुने उनी भन्छिन्, ‘सानैदेखि डान्स भनेपछि हुरुक्कै हुन्थेँ । घरमा टिभी हेरे डान्स गर्थेँ र आफूलाई फिल्मकै हिरोइन सम्झिन्थेँ । मलाई सबैभन्दा मनपर्ने कला हो डान्स ।’ अमेरिकामा आफ्नो नृत्यकला एक्पोज गर्ने अवसर पाएसँगै उनी व्यवसायीरुपमा कला क्षेत्रमा होमिएकी हुन् ।

आरजु बैंजू, मोडल तथा कोरियोग्राफर

तपाइँ मोडल कि कोरियोग्राफर ?
– म दुईटै हुँ । कोरियोग्राफीसँगै मोडलिङ पनि गर्दैै आएकी छु । सुरुमा चाहिँ म डान्सर थिएँ । त्यसपछि कोरियोग्राफर हुँदै मोडलिङ सुरु गरेकी हुँ ।

यो क्षेत्रमा लाग्नुभएको कति भयो ?
– व्यवसायीरुपमा मोडलिङ र कोरियोग्राफी गर्न थालेको दुई वर्षमात्र हुँदैछ । तर, त्यसअघि स्टेज कार्यक्रमहरुमा डान्स गर्थे । डान्स गर्दागर्दै कोरियोग्राफी गर्न थालेकी हुँ ।

डान्स गर्न थाल्नुभएको चाहिँ कति भयो ?
– कति भयो भन्ने । सानैदेखि डान्स गर्न रुचाउँथेँ । टिभीमा गीत बज्जेवित्तिकै डान्स गर्न थाल्थे । कसैले गीत गाएको वा नाचेको देख्नै नहुने, म नाचिहाल्थेँ । स्कुलका हरेक कार्यक्रमहरुमा डान्स गर्थे ।

सानैमा नृत्यप्रति कसरी प्रभावित हुनुभयो ?
– मुख्य कुरा त टिभी र रेडियो नै हो । टिभीमा फिल्ममा गीतहरु बज्थ्यो । त्यतिखेर म नाच्न थाल्थेँ । टिभी स्क्रिनमा हिरोइनहरु नाचेको हेर्दै म आफू पनि हिरोइन नै भएको सम्झिन्थेँ । त्यो बेला अरुलाई पनि डान्स गर्न सिकाउँथे ।

नृत्य र मोडलिङमा लाग्ने अवसर कसरी जुट्यो ?
– मेरो रुचि नै नृत्य र अभिनय हो । यतिकै म प्लस–२ गर्दैगर्दा मलाई अमेरिकन दूतावासबाट कल्चर एक्प्रेसनका लागि अफर आयो । १५ दिनको कार्यक्रम थियो । त्यो कार्यक्रम सकेर आएपछि मलाई थप हौसला र प्रेरणा मिल्यो । त्यसपछि कोरियोग्राफी र मोडलिङ सुरु गरेकी हुँ ।

अठार वर्षकै उमेरमा फिल्ममा कोरियोग्राफी गर्दा गाह्रो भएन ?
– सुरुमा मैले असिस्टेन्ट कोरियोग्राफर भएर काम गरेकी थिएँ । मैले पहिलोपटक कोरियोग्राफी गरेको फिल्म ‘चचचुँइ’ हो । यो २०१९ तिरै हो । उक्त फिल्ममा अभिनेता आर्यन सिग्देल हुनुहुन्थ्यो । म उमेरले सानै थिएँ, त्यसैले डर पनि लाग्यो । कतै मैले भनेको नसुन्ने पनि हो कि भन्ने डर थियो । तर, म मा गर्न सक्छु भन्ने कला, आत्मविश्वास र हिम्मत थियो । आफूमा कन्फिडेन्ट भयो भने गर्न सकिने रहेछ ।

तपाइँ आफ्नो पेसाबाट खुसी हुनुहुन्छ ?
– नृत्य र मोडलिङ मेरो रुचि र इच्छा हो । आफूले चाहेको र इच्छाएको क्षेत्रमा काम गर्न पाउँदा दंग छु ।

फिल्ममा अभिनय गर्ने सोच छैन ?
– यसै क्षेत्रमा छु । मेरो सोच छ । दुई वर्षअघि नै फिल्मका लागि अफर पनि आएको थियो । तर, त्योबेला प्लस–२ गर्दैथिएँ । फिल्मको लागि म्योचुड पनि भइसकेकी थिइन । त्यसैले गरिनँ ।

अब त हिरोइनका लागि म्याचुड हुनुभयो नि ?
– अब त भएँ । त्यसैले प्रिपियर गर्दैछु । तर, कोरोना संक्रमणका कारण पछिल्लो एक वर्षयता फिल्महरु पनि बनेको छैन । अब सामान्य अवस्था भएपछि सोच्नुपर्ला ।

कस्तो फिल्ममा अभिनय गर्ने इच्छा छ ?
– म यस्तै गर्छु भन्दिन । मलाई सुहाउँदो क्यारेक्टर भयो भने अभिनय गर्छु । विशेषगरी मेरो रियल लाइफभन्दा केही भिन्न क्यारेक्टर भयो भने राम्रो ।

हिजोआज लकडाउन छ, दिन कसरी बिताउँदै हुनुहुन्छ ?
– आफूले काम गरेका भिडियो हेर्छु । यो पेन्डामिकमा शेल्फ केयर त गर्नु प¥यो नै । त्यसबाहेक आफ्नो कामको समीक्षा पनि गर्छु । मानौँ, गल्तीहरु सुधारेर अझ राम्रो गर्न सकौँ ।

भर्खर टिनएज क्रस गर्दै हुनुहुन्छ । यो उमेर डेटिङ जाने समय हो नि ?
– होला । तर, मलाई त्यस्तो सोच कहिल्यै आएन । अझै आउने छैन । बाहिर गएर आएपछि त झनै करिअरमा बढी ध्यान जान थाल्यो । म आफ्नो करिअरलाई माया गर्छु ।

प्रेम प्रस्तावहरु त आउँछन् होला ?
– मेरो व्यक्तित्व देखेर होला, आउँदैन । एसएलसी अघिसम्म चाहिँ आउँथ्यो । तर, त्यतिखेर प्रेम प्रस्ताव हो भन्ने थाहै भएन । अहिले सम्झिन्छु, ती प्रेम प्रस्ताप थिएछ ।

दृष्टि साप्ताहिकबाट

प्रतिक्रिया