काठमाडौं, १ असार । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगको पछिल्लो निर्णयप्रति असन्तुष्टि जनाएको छ ।
पार्टीको बहुमत कार्यकारिणी समितिले गरेको निर्णय अस्वीकार गरेर निर्वाचन आयोगले एकपक्षीय हीत अनुरुप काम गरेको भन्दै (जसपा)का अध्यक्ष यादवले आयोगप्रति असन्तुष्टि व्यत्त गरेका हुन् ।
२०७८ जेष्ठ १७ गते बसेकोे कार्यकारिणी समितिको बहुमतबाट निर्णय गरी अर्का अध्यक्ष महन्थ ठाकुर लगायत नेतालाई कारवाही गरेको विषय आयोगले अस्वीकार गरेपछि अध्यक्ष यादवले यस्तो आरोप लगाएका हुन् ।
अध्यक्ष यादवले विज्ञप्ति जारी गर्दै सबै प्रकृया पुरा गरेर कारवाही गरिएको भए पनि आयोगले अस्वीकार गरेकोमा आफ्नो ध्यानकर्षण भएको बताएका छन् । विज्ञप्तिमा भनिएको छ– ‘सबै प्रकृया पुर्याएर कारवाही गरी पार्टीको जिम्मेवारीबाट हटाइएको र निर्वाचन आयोगले मागे बमोजिम सम्पूर्ण कागजात एवम् प्रमाणहरुसमेत बुझाई पठाइएको पत्र निर्वाचन आयोगले अस्वीकार गरेकोमा हाम्रो गंभीर ध्यानाकर्षण भएको छ ।’
यादव नेतृत्वको जसपाले निर्वाचन आयोगको निर्णय पूर्वाग्रहपूर्ण रहेकोसमेत आरोप लगाएको छ । विज्ञप्तिमा भनिएको छ– ‘उक्त निर्णयले निर्वाचन आयोगबाट निष्पक्ष, तटस्थ भूमिका निर्वाह हुन नसकेको र पूर्वाग्रहपूर्ण रहेको हाम्रो निष्कर्ष छ ।’
जसपाले निर्वाचन आयोगले पूर्वाग्रहरहीत भई निष्पक्ष र तटस्थ ढंगबाट निर्णय गर्नुपर्नेमा एकपक्षीय हीत अनुरुप निर्णय गरेको भन्दै उक्त निर्णय मान्य नहुने र यसले निर्वाचन आयोगको तटस्थता र निष्पक्षता माथि नै गंभीर शंका उत्पन्न भएको बताएको छ । आयोगको निर्णयविरुद्ध राजनीतिक र कानुनी उपचारका लागि लडाई जारी रहनेसमेत जसपको विज्ञप्तिमा उल्लेख छ ।