इजरायलका नवनियुक्त प्रधानमन्त्री बेनेटलाई अमेरिकी राष्ट्रपतिको बधाई
अखबार टुडे
प्रकाशित:
२०७८, ३१ जेष्ठ

जेरुसेलम, ३१ जेष्ठ (एजेन्सी) । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलका नवनियुक्त प्रधानमन्त्री नाफ्ताली बेनेटलाई बधाई दिएका छन् । अमेरिकी राष्ट्रपति बाइडेनले आइतबार फोन गरेर प्रधानमन्त्री बेनेटलाई बधाई ज्ञापन गरेको बताइएको छ ।

इजरायलको संसद नेसेटमा आइतबार साँझ सम्पन्न मतदानमा नाफ्ताली बेनेटले झिनो मतान्तरबाट बहुमत हासिल गर्न सफल भएको थियो । बेनेट आइतबार मात्र प्रधानमन्त्री नियुक्त भएको र उनले आइतबार राति नै प्रधानमन्त्री पदको सपथ लिएको बताइएको छ ।

इजरायलका प्रधानमन्त्री बेनेटले सपथ लिएको दुई घन्टापछि नै अमेरिकी राष्ट्रपति जो बाइडेनले उनलाई फोन गरेर बधाई दिएको समाचारमा जनाइएको छ । त्यस फोनवार्ताका क्रममा अमेरिकाले आगामी दिनमा पनि विगतमा जस्तै इजरायलसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो ।

त्यस फोनवार्ताका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाको इजरायलभन्दा नजिक अर्काे कुनै पनि देश नरहेको बताएको समाचारमा जनाइएको छ ।

इजरायलमा लामो समयदेखि प्रधानमन्त्रीका रुपमा सेवा रहेका बेन्जामिन नेतान्याहु बाहिरिएपछि आइतबार मात्र बेनेट इजरायलको प्रधानमन्त्रीमा नियुक्त भएको हो ।

इजरायलमा सत्तारुढ लिकुड पार्टीका नेता एवं प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको १२ वर्षे शासन समाप्त भएको छ । बेनेटले झिनो मतान्तरबाट बहुमत हासिल गर्न सफल भएसँगै नेतन्याहूको पद गुमेको हो ।

कूल १२० सदस्यीय संसदमा भएको मतदानमा बेनेटले ६० मत पाएका थिए भने विपक्षमा ५९ मत परेको थियो । बेनेटलाई इजरायलका कट्टरपन्थी यहुदी, बामपन्थी र अरब कट्टरपन्थी समेतका आठ वटा दलको समर्थन थियो ।

सन् २०१९ यता चार पटक संसदको चुनाव गर्दा पनि कुनै दल वा गठबन्धनले बहुमत ल्याउन सकेको थिएन । पाँचौं चुनाव हुने सम्भावना बढेपछि अविश्वसनीय लाग्ने नयाँ गठबन्धन तयार भएको थियो । जसमा बेनेट स्वयंले प्रधानमन्त्री नेतन्याहूको साथ छाडेका थिए । बेनेटले धार्मिक अतिराष्ट्रवादी यामिना पार्टीको नेतृत्व गर्छन् ।

यो दलले संसदमा सात सिट मात्र जितेको छ, तर नयाँ गठबन्धनमा उनी “किङ मेकर” का रुपमा देखा परेका थिए । नयाँ सत्ता गठबन्धनमा ४९ वर्षीय बेनेट पहिलो दुई वर्ष प्रधानमन्त्री हुनेछन् भने बाँकी दुई वर्ष मुख्य विपक्षी पार्टीका नेता याईर लापिड प्रधानमन्त्री हुनेछन् ।

प्यालेस्टाइनलाई स्वतन्त्रता दिन नहुने कट्टर विचार राख्दै आएका बेनेट प्यालेस्टिनीको बसोबास रहेको अधिनस्थ पश्चिम किनारा र पूर्वी जेरुसेलममा यहूदी बस्ती बिस्तार गर्नुपर्ने धारणा राख्छन् । बेनेटको यस विचारको अन्तर्राष्ट्रिय समुदायले विगतदेखि नै विरोध गर्दै आएका छन् ।

तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाको दबाबमा पूर्वी जेरुसेलम र पश्चिम किनारामा यहूदी बस्ती बिस्तारमा ढिलाई गरेको भन्दै प्रधानमन्त्री नेतन्याहूको कटु आलोचना गरेका थिए ।

उनी पश्चिम किनारामा यहूदी बस्ती बिस्तार कार्यक्रमका प्रमुख पनि थिए । संसदमा सन् २०१३ मा पहिलो पटक चुनिएका थिए । प्रधानमन्त्री नेतन्याहूको मन्त्री परिषदमा उनले महत्वपूर्ण मन्त्रालय सम्हाल्नुका साथै रक्षा मन्त्री समेत बनेका थिए ।

प्रतिक्रिया