१० प्रतिशत मात्रै तलब बृद्धि भएको भन्दै पाकिस्तानका सरकारी कर्मचारी आन्दोलित
अखबार टुडे
प्रकाशित:
२०७८, २९ जेष्ठ

इस्लामावाद, २९ जेठ । पाकिस्तानका सरकारी कर्मचारीले सरकारले गरेको तलब बृद्धि थोरै भएको भन्दै आन्दोलन सुरु गरेका छन् ।
सरकारले नयाँ आर्थिक बर्षमा १० प्रतिशत मात्रै तलब बृद्धि हुने घोषणा गरेपछि कर्मचारीले तलब बृद्धि थोरै भएको भन्दै आन्दोलित भएका हुन् ।
उनीहरुले शुक्रबार बृहत प्रदर्शन गर्दै कम्तीमा २५ प्रतिशत तलब बृद्धि हुनुपर्ने मागसमेत गरेको समाचारमा जनाइएको छ । गत तीन बर्षदेखि कर्मचारीहरुको तलब बृद्धि नभएकाले यस बर्ष धेरै बृद्धि हुनुपर्ने उनीहरुको भनाइ रहेको छ ।
आन्दोलनकारीले करारका कर्मचारीहरुलाई स्थायी गर्नुपर्ने माग पनि राखेको गेयो न्युजले समाचार सम्प्रेषण गरेको छ । प्रदर्शनकारीहरुले अर्थमन्त्रीसमेतलाईृ लक्षित गर्दै राष्ट्रिय संसद भवन अगाडि प्रदर्शन गरेका थिए । दश प्रतिशत मात्रै तलब बृद्धि गर्ने निर्णय संशोधन गर्न पनि उनीहरुले माग गरेका छन् ।
‘सरकारले कम्तीमा २५ प्रतिशत तलब बृद्धि भएको घोषणा गरोस्, हैन भने हामी जुनको अन्त्यसँगै कडा आन्दोलन घोषणा गर्न बाध्य हुनेछौँ’, एक कर्मचारी नेताले भने ।
कर्मचारीहरुको आन्दोलनप्रति पाकिस्तान पिपल्स पार्टी (पिपिपि)का अध्यक्ष बिलावाल भुट्टो जर्दारीले ऐक्वबद्धता जनाएका छन् । कर्मचारीले आयोजना गरेको विरोध कार्यक्रममा समेत उनी शुक्रबार बेलुका सहभागी भएको थियो ।

प्रतिक्रिया