१० खेलाडीमा सीमित नेपाल अस्ट्रेलियासँग ३–० ले पराजित
अखबार टुडे
प्रकाशित:
२०७८, २९ जेष्ठ

काठमाडौं, २९ जेष्ठ । विश्वकप फुटबल छनोट अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ३–० ले पराजित भएको छ । गएराति कुवेतको जाबेर अल अहमद मैदानमा भएको खेलमा १० खेलाडीमा सीमित नेपाल अस्ट्रेलियासँग पराजित भएको हो ।

पहिलो हाफमा दुई गोल गरेको अस्ट्रेलियाले दोस्रो हाफमा थप एक गोल गर्यो । म्याथ्यु लेकीले खेलको छैटौँ मिनेटमा नै अस्ट्रेलियालाई अग्रता दिलाएका थिए । ३८ औँ मिनेटमा फ्रान कारासिकले अग्रता दोब्बर बनाए । दोस्रो हाफमा ५७ औँ मिनेटमा मार्टिन बोयलले अर्को गोल थपे ।

सुरुदेखि नै अस्ट्रेलियाको दबाबमा रहेको नेपालका रोहित चन्द ४५ औं मिनेटमा रातो कार्ड पाउँदै मैदान बाहिर गएपछि नेपाल १० खेलाडीमा सीमित रहेको थियो । तर पनि पहिलो हाफमा दुई गोल खाएको नेपालले दोस्रो हाफमा जम्मा १ गोल मात्रै खायो ।

नेपालका गोलकिपर किरण चेम्जोङले अस्ट्रेलियाका एक दर्जनभन्दा धेरै प्रहारलाई रोकेका छन् । अपराजित रहेको अस्ट्रेलिया विश्वकप छनोटको अर्को चरणमा प्रवेश गरेको छ । नेपाल भने ८ खेलमा ६ अङ्कका साथ चौथो स्थानमा रह्यो र विश्वकप तथा एसियनकप छनोटको अर्को चरणमा पुग्न असफल रह्यो । अब नेपालले एएफसी एसियन कप २०२३ को छनोटको तेस्रो चरणमा प्रतिस्पर्धा गर्न प्लेअफ राउन्ड खेल्नु पर्ने भएको छ।

प्लेअफ राउन्डमा दोस्रो चरणमा प्रतिस्पर्धा गरिरहेका आठ समूहका पाँचौ हुने ८ टिम र उत्कृष्ट चौथो टिमभित्र पर्न नसक्ने ४ टिम गरी १२ टिमबीच प्रतिस्पर्धा हुने तय थियो । यद्यपी उत्तर कोरियाले छनोटबाट नाम फिर्ता लिएपछि अब प्लेअफ राउन्डमा ११ टिमबीच मात्र प्रतिस्पर्धा हुने भएको छ ।

प्रतिक्रिया