सर्वदलीय बैठक : पटक-पटक संसद विघटन भएकामा साझा चिन्ता
अखबार टुडे
प्रकाशित:
२०७८, २८ जेष्ठ

काठमाडौं, २८ जेठ । लोकतन्त्र र संविधान गम्भिर संकटमा परेको भन्दै त्यसलाई बचाउनुपर्ने राजनीति दलका शीष नेताहरुले निष्कर्ष निकालेका छन् । शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा यस्तो निष्कर्ष निकाले हुन् ।

बैठकपछि जसपाका नेता डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा पटक–पटक विघटन गर्दा लोकतन्त्र नै धरापमा परेको भन्दै यसलाई बचाउन राजनीतिक दलहरु लाग्नुपर्ने बताए । पूर्वप्रधानमन्त्री समेत रहेका उनले भने, ‘अहिले लोकतन्त्र धरापमा परेको छ । पटक पटक संसद विघटन भएको छ । यसमा साझा चिन्ता व्यक्त भयो ।’

बैठकमा चुरे लगायतका क्षेत्रबाट बालुवा ढुंगा गिटी निकासी गर्ने सरकारको निर्णय गलत रहेको बैठकमा सहभागी नेताहरुको ठहर छ । नेता भट्टराईले संसद विघटन गलत छ भनेर दलका नेताहरुले सभामुखलाई सुझाव दिएको जानकारी दिए ।

उनले बैठकमा सभामुखलाई नेताहरूले ‘उनको हातमा पनि लोकतन्त्रलाई जोगाउने महत्वपूर्ण जिम्मेवारी रहेको’ बताएको जानकारी दिए ।

जवाफमा सभामुख सापकोटाले दिएको प्रतिक्रियालाई उद्धृत गर्दै यादवले भने, ‘हामीलाई के विश्वास छ भने सर्वोच्च अदालतले न्याय दिन्छ संविधानको रक्षा गर्छ, लोकतन्त्रको रक्षा गर्छ । त्यसकारणले सर्वोच्च अदालतमाथि हाम्रो आस्था र विश्वास छ भन्ने कुरा उहाँले गर्नुभयो र हामी सबैले त्यही कुरा दोहो¥यायौँ ।’

बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै राष्ट्रिय प्रजातन्त्र पार्टिका नेता दीपक बोहोराले प्रतिनिधिसभा विघटनबारे नेताहरूले मिश्रित प्रतिक्रिया दिएको बताएका थिए । उनले आफ्नो पार्टीले अदालतमा विचाराधीन विषयमा केही नभन्ने धारणा राखेको जानकारी दिए ।

सभामुख सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक संसद विघटन गरेपछि उत्पन्न राजनीतिक परिस्थितिका बारेमा पूर्व प्रधानमन्त्रीसहित दलका नेतासँग छलफल गरेका हुन् । यसअघि उनले कानुनविदहरुसँग समेत छलफल गरेका थिए ।

प्रतिक्रिया