श्रीलंकामा कोभिड-१९ को तेस्रो भेरिएन्ट, एकैदिन १०१ जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, २८ जेष्ठ

कोलम्बो, २८ जेठ (एजेन्सी) । श्रीलंकामा कोरोनाबाट ज्यान गुमाउने व्यक्तिको दैनिक संख्या बढ्न थालेको छ ।

शुक्रबार पछिल्लो २४ घण्टामा श्रीलंकामा कोरोनाबाट १०१ जनाको मृत्यु भएको छ । यससँगै यहाँ कोरोनाबाट मृत्यु हुने व्यक्तिको कूल संख्या २ हजार ११ जना पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ ।

यसै अवधिमा यहाँ २६ सयभन्दा बढी थप व्यक्तिमा कोरोना सङ्क्रमण भएको छ । श्रीलंकामा कोरोना शुरु भएदेखि हालसम्म २ लाख १६ हजार १३४ जना व्यक्ति सङ्क्रमति भइसकेका छन् । श्रीलङ्कामा ३१ हजार ९८६ जना सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

श्रीलंकामा पनि कोभिड–१९ को तेस्रो भेरिएन्ट शुरु भएको बताइएको छ । हाल यहाँ राष्ट्रव्यापी रुपमा यात्रा प्रतिबन्ध गरिएको छ । यो प्रतिबन्ध आगामी जुन १४ बाट खुल्ला गरिने अनुमान गरिएको छ । यहाँ गत दुई महिनायता १ लाखभन्दा बढी कोरोना भाइरसका सङ्क्रमित थपिएका पनि सरकारी स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया