
काठमाडौं, २७ जेष्ठ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले माधव नेपाल पक्षका १७ जना प्रदेश सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
मंगलबार पार्टीको निर्देशन विपरीत मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएको भन्दै प्रदेश कमिटीले संसदीय दलका नेता प्रकाशबहादुर शाहसहितका १७ जना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको हो ।
मुख्यमन्त्रीलाई विश्वासको मत दिनुको कारणसहित २४ घण्टाभित्र जवाफ पेश गर्न स्पष्टीकरण सोधिएको एमालेका प्रदेश सचिव राजेन्द्र रावलले जानकारी दिएका छन् ।
रावलले १० जेठमा पार्टीको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको अवस्था र विश्वासको मतको विपक्षमा मतदान गर्न दिएको निर्देशन विपरीत मतदान गरेकाले स्पष्टीकरण सोधिएको जानकारी दिए ।
साथै सोधिएको स्पष्टीकरण चित्तबुझ्दो जवाफ नदिए पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिने प्रदेश कमिटीले जनाएको छ ।