गण्डकीमा प्रदेश सभा बैठक बस्दै, मुख्यमन्त्री गुरुङले विश्वासको मत पाउने सम्भावना कति ?
अखबार टुडे
प्रकाशित:
२०७८, २७ जेष्ठ

काठमाण्डौं, २७ जेष्ठ । गण्डकी प्रदेशमा प्रदेश सभा बैठक आज बस्दैछ । प्रदेश सभा सचिवालयका अनुसार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मध्याह्न १२ बजेको लागि बोलाइएको बैठकमा विश्वासको मत लिने कार्यतालिका रहेको छ ।
आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मतदान हुनुभन्दा एक दिनअघि मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश सभामा ठूलो दलको नेताको हैसियतले गुरुङले वैशाख २९ मा मुख्यमन्त्रीको शपथ लिएका थिए ।
संवैधानिक व्यवस्था अनुसार उनले जेठ २९ गतेभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । त्यसैको लागि उनले २५ जेठमा विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका थिए ।
गण्डकीमा ६० जना प्रदेश सभा सदस्य रहेकोमा विश्वासको मतको लागि ३१ मत आवश्यक पर्छ । अरु दलले साथ नदिने र एमालेसँग जम्मा २७ सदस्य रहेकोले मुख्यमन्त्री गुरुङले विश्वासको मत पाउन कठिन देखिएको छ । कांग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, जसपाका २ र राष्ट्रिय जनमोर्चाका तीन सांसद गरी ३२ जना सदस्य छन् ।
चार वटै दलले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन् । तर राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले भने पार्टीको निर्णय नमान्ने बताएका छन् । जनमोर्चाका एक जना सदस्यले साथ नदिए पनि स्वतन्त्र सदस्य राजीव गुरुङले विपक्षी गठबन्धनलाई समर्थन गरेमा एमालेबाहेकको सरकार गठनको सम्भावना रहेको छ ।

प्रतिक्रिया