चुच्चे नक्सा उल्लेख नगरिएका पुस्तक जफत गर्न शिक्षामन्त्रीको निर्देशन
अखबार टुडे
प्रकाशित:
२०७८, २६ जेष्ठ

काठमाडौं, २६ जेठ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नेपालको पुरानो नक्सा भएको पुस्तक जफत गर्न निर्देशन दिएका छन् ।

नेपालले लिम्पियाधुरा र कालापानी समेटेर नक्सा सार्वजनिक गरिसकेको अवस्था केही निजी प्रकाशकले नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेको भन्दै मन्त्री श्रेष्ठले यस्तो निर्देशन दिएका हुन् ।

बुधबार पाठ्यक्रम विकास तथा मुल्याँकन परिषद्को ८८औं बैठकमा मन्त्री श्रेष्ठले पुस्तक प्रकाशक र बिक्रेतालाई कानुनको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका छन् ।

सरकारको आँखा छलेर पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गर्ने पुस्तक प्रकाशक र वितरकलाई तत्काल स्पष्टीकरण सोध्ने, पुरानो नक्सा अंकित बजारमा बिक्री भएका पुस्तक जफत गर्ने र मन्त्रालयको निर्देशन अटेर गर्नेलाई कानुनअनुसार कारबाही गर्न उनले निर्देशन दिए ।

‘तपाईंहरूले अनुगमन गर्नुस्, देशलाई आँच पुग्नेगरी पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गरेको पाइए तत्काल प्रहरी प्रशासन लगाएर कारबाही गर्नुस्’ मन्त्री श्रेष्ठको निर्देशन थियो ।

मन्त्रालयका सचिव रामप्रसाद थपलियाले पुरानो नक्सा राखी नयाँ पुस्तक बिक्री गर्नेमाथि कडा कारबाही गरिने बताए । ‘यस विषयमा तत्काल अनुगमन गर्नेछौँ’, उनले भने, ‘गल्ती गर्ने प्रकाशक र बिक्रेतामथि कारबाही प्रकृया अघि बढाउनेछौं ।’

अधिकांश बिक्रेताले नेपालको पुरानो नक्सा उल्लेख गरी बिक्री गरेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।

केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेका प्रकाशक र बिक्रेतामाथि कारबाही प्रकृया अघि बढाउने बताए । मन्त्री श्रेष्ठले सरकारले जारी गरेको चुच्चे नक्सा नराखी प्रकाशन गर्ने पुस्तक व्यापारीलाई तत्काल कारबाहीको दायरामा ल्याउन निर्देशन दिए ।

प्रतिक्रिया