असारदेखि निषेधाज्ञामा केही खुकुलो गर्ने तयारी
अखबार टुडे
प्रकाशित:
२०७८, २५ जेष्ठ

काठमाडौं, २५ जेष्ठ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले निशेषाज्ञालाई विस्तारै खुकुलो बनाउँदै लैजाने योजना अघि सार्ने भएको छ ।

गृह मन्त्रालयका अनुसार मुलुकभर जारी गरिएको निषेधको आदेश कार्यान्वयन र सङ्क्रमणको अवस्थाबारे समीक्षा भइरहेकोे र त्यसैका आधामा असारदेखि कसरी अघि बढ्ने भन्ने कुराको निक्र्योल हुने जनाइएको छ । गृहप्रवक्ता जनकराज दाहालले जिल्लाबाट रिपोर्टिङ् लिने क्रम जारी रहेको जानकारी दिए ।

यसअघि ‘लकडाउन’ थियो, असारदेखि भने ‘लुज डाउन’ लागू गर्ने योजना छ, मुलुकभरको सुझाव आएपछि त्यसको आधारमा आवश्यक निर्णय लिइने छ, दाहालले भने, केही सहजीकरण भने पक्कै हुनेछ ।

सङ्क्रमणभन्दा निको हुने दर दोब्बर हुँदै गएको र मृत्युदरसमेत न्यून भएकाले निषेधाज्ञामा केही खुकुलो गर्ने योजनाका साथ अहिले काम भइरहेको छ । आ–आफ्नो जिल्लामा आदेश लागू गर्ने र हटाउने अधिकार सरकारले प्रजिअलाई नै दिएकाले गृहको आवश्यक समन्वय र निर्देशनमा काम अघि बढ्नेछ ।

कोरोना नियन्त्रण तथा रोकथामका लागि जारी निषेधाज्ञा तथा कोरोना परीक्षणको दायरा वृद्धि भएसँगै पछिल्लो दिन सङ्क्रमितभन्दा निको हुनेदर उच्च हुँदै गइरहेको तथ्याङ्कल देखाएको छ । सोमबार झण्डै १८ हजारको परीक्षण गरिएकोमा ४ हजार ४७२ मा सङ्क्रमण पुष्टि भएको र ६ हजार ९५१ सङ्क्रमित निको भएका छन् । सोही अवधिमा कोरोनाबाट ९२ जनाको मृत्यु भएको छ । त्यसअघि १८ हजारको परीक्षणमा कम्तिमा पनि आठ हजारमाथि सङ्क्रमित फेला पर्दै आएका थिए । मानिसको मृत्यु तीन अङ्कको थियो ।

दोस्रो कोरोनाको लहरसँगै नेपालमा गत वैशाख ७ गते बाग्लुङबाट निषेधको आदेश जारी गर्नेक्रम शुरु भएको थियो । सङ्क्रमण नियन्त्रणका लागि वैशाख १३ गते बाँके र १४ गते सुर्खेतमा गरिएकामा १६ गतेदेखि उपत्यकासहीत धेरै जिल्लाले निषेधाज्ञा जारी गरेका थिए । जेठ मसान्तसम्म खोटाङ र मनाङ बाहेकका ७५ जिल्लाले निषेधाज्ञा जारी सङ्क्रमण नियन्त्रणमा सक्रियता देखाइरहेका छन् ।

प्रतिक्रिया