विश्वकप फुटबल छनोट अन्तर्गत नेपाल जोर्डनसँग पराजित
अखबार टुडे
प्रकाशित:
२०७८, २५ जेष्ठ

काठमाडौं, २५ जेष्ठ । सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा हुने एशिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ ।
गए राति भएको खेलमा नेपाल जोर्डनसँग ३–० गोलअन्तरले पराजित भएको हो । नेपाली खेलाडीमाथि शुरुआतदेखि नै जोर्डनको टोली हावी भएको थियो ।
जोर्डनले पहिलो हाफमा एक गोल तथा दोस्रो हाफमा दुई गोल गर्न पुग्यो । जोर्डनका लागि बहा फैजलले दुई तथा यजान अल अरबीले एक गोल गरे । जितसँगै जोर्डन समूह बीको दोस्रो स्थानमा उक्लिएको छ । उसको १३ अङ्क रहेको छ । तेस्रो स्थानमा रहेको कुवेतको १० अङ्क छ ।
कुवेत सिटी रङ्गशालामा जोर्डनले खेलको १६औँ मिनेटमा गोलको अवसर पाएको थियो । यस्तै खेलको २३औँ मिनेटमा रोहित चन्दले डी बक्समा फल गरेपछि जोर्डनले पेनाल्टी पाएको थियो ।
जोर्डनका बाहा फैजल सेइफले पेनाल्टीमार्फत गोल गर्नुभयो । नेपाली टिममा युवा खेलाडीको बाहुल्य रहेको थियो । इराक र चाइनिज ताइपेईविरुद्धको खेलमा बेञ्चमै रहेका विकास खवास जोर्डनविरुद्धको शुरुवाती ११ खेलाडीमै परेको थियो ।
खेलको २९औँ मिनेटमा घाइते भएपछि उनी मैदानबाट बाहिरिएका थिए । उनको स्थानमा सुनिल बल मैदान प्रवेश गरेको थियो ।
कुवेतमा खेल सञ्चालन हुँदा अधिकतम तापक्रम ४० डिग्री सेल्सीयसभन्दा बढी रहेको थियो । दोस्रो हाफमा जोर्डनले खेलको ४८औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनायो ।
खेलको ५८औँ मिनेटमा मनीष डाँगीले मौका पाए पनि गोल गर्न सकेन । खेलको ६७औँ मिनेटमा अल अरबीले गोल गर्दै नेपाललाई ३–० ले पछि पारे । नेपालले अब बिहीबार अस्ट्रेलियासँग खेल्नेछ ।

प्रतिक्रिया