काठमाडौं, २२ जेष्ठ । जनता समाजवादी पार्टीका नेता एवं उप–प्रधानमन्त्री तथा सहरी विकास मन्त्री राजेन्द्र महतोले नेपाल बहुलताले भरिएको देश भन्दै एकल राज्य नभई बहुल राज्य हुनुपर्ने बताएको छ । साथै उनले साहिअनुसार नियम, कानुन, संविधान र व्यवस्थामा हिमाल, पहाड, तराईँ र मधेशको जनताको सहभागिता हुनुपर्ने बताए ।
शनिबार जनता समाजवादी पार्टीको कार्यालय बबरमहलमा नवनियुक्त मन्त्रीहरुलाई स्वागत कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री महतोले बहुलताले भरिएको देशमा एकल जातीय राज्यको प्रभाव परेको भन्दै बहुलतामा लैजानुपर्ने उनले उल्लेख गरे । बहुल राज्य नभएसम्म जनताले अधिकार र पहिचानको निम्ति आन्दोलन गरिरहने उनले बताए ।
उनले संविधान अपूर्ण भएको भन्दै अधिकार र पहिचानको निम्ति जसपाले मिसन चलाउने उनको भनाइ छ । देशका सबैकुरा ठिकठाक नभएको भन्दै उनले नियम, कानुन, संविधान र शासनमा भएको कमिकमजोरीलाई संशोधन र सुधार गर्दैै जानुपर्ने बताए ।
साथै मन्त्री महतोले थरूहट आन्दोलनमा लागेका पार्टीका नेता रेशम चौधरी जेलमा रहेको बताउँदै सर्वोच्चले मुद्धा टुङ्याएपछि राष्ट्रपतिबाट कैद सजाय माफी गराएर चौधरीको रिहाइ गराउने जानकारी गराए ।