नेपाल खबर

केपी ओली एकपछि अर्को दक्षिणपन्थी भासमा भासिए : नेता नेपाल

काठमाडौं, २२ जेठ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली सुध्रिने सम्भावना आफूले नदेखेको बताएका छन् ।
शनिबार सबै जिल्लाका आफूनिकट कमिटीका अध्यक्ष र सचिवसँग भर्चुअल छलफलमा उनले अब ओलीसँग सम्वादका लागि एक हप्ताको समयवाधि छुट्याइएको र त्यसपछि पार्टी पुनर्गठनमा अघि बढ्ने बताए ।
केपी ओली एकपछि अर्को गरी दक्षिणपन्थी भासमा भासिएको भन्दै उनले भने, ‘केपी ओली एकपछि अर्को गरी दक्षिणपन्थी भासमा भासिए । सुध्रिने सम्भावना दुई सय प्रतिशत देख्दिनँ । केही साथीहरुले देख्नुभएको छ भने उहाँहरुलाई एक हप्तासम्म सम्भावना देख्नुस् भनेका छौँ । त्यसपछि पर्खन सकिन्न ।’ नेता नेपालले ओलीपक्ष संवाद गरिरहेका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश भट्टराईलाई संकेत गर्दै यस्तो बताएका थिए ।
नेता नेपालले आफूले पनि बनाएको पार्टी भएकाले एकतावद्ध बनाउन चाहेको बताउँदै भने, ‘केही नेता र युवा साथीहरुलाई पार्टी एकताका पक्षमा उभिने हो भने एक हप्ता दिऔँ भनेका छौँ । तर, मलाई ओली सुध्रिन्छन् भन्ने लाग्दैन ।’
जिल्ला पदाधिकारीसँगको छलफलमा उनले केन्द्रीय कमिटी बैठकले गरेका निर्णयलाई स्थायी कमिटी बैठकले अनुमोदन गर्ने बताए ।
नेता नेपालले अध्यक्ष ओलीसँग भएका अन्तरविरोधका बारेमा बताउँदै भने, ‘उहाँले गलत कदम चालेपछि मात्रै त्यसलाई काउन्टर गरेका हौँ ।’ छलफलमा सहभागी जिल्ला अध्यक्षहरुले ओलीबाट एमाले कुनै हालतमा नजोगिने भन्दै तत्काल पार्टी पुनर्गठन गरेर अगाडि बढ्नुपर्ने नेपाललाई सुझाव दिएका थिए ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top