प्रधानमन्त्री ओलीबाट एकपछि अर्को राष्ट्रघाती काम भइरहेको छ : नेता रावल
अखबार टुडे
प्रकाशित:
२०७८, २२ जेष्ठ

काठमाडौं, २२ जेठ । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको चरम सत्तालिप्साका कारण एकपछि अर्को राष्ट्रघाती काम गर्दै आएको आरोप लगाएका छन् । नेता रावलले शनिबार ट्विट गर्दै प्रधानमन्त्री ओलीलाई राष्ट्रघातीको संज्ञा दिएका हुन् ।

प्रधानमन्त्री ओलीले जसपाका १० जना नेतालाई मन्त्री बनाएपछि नेता रावलको यस्तो टिप्पणी गरेका हुन् । उनले विदेशी शक्तिलाई खुसी पार्न प्रधानमन्त्रीको पछिल्लो कदम चालेको समेत उल्लेख गरेका छन् ।

नेता रावलले लेखेका छन्, ‘प्रम केपीको चरम सत्तालिप्साका कारण उहाँबाट एकपछि अर्को असंवैधानिक र राष्ट्रघाती काम भइरहेको र कुर्सी स्वार्थका लागि अनेकौँ कूकार्य हुँदै आएको तथ्यको आधारमा मैले ५ दिन अघि उहाँले आफूसँग ५ मन्त्रालय राखेर वाह्य शक्तिलाई मक्ख पार्न अरू मन्त्रालय जसपाको महन्थ पक्षलाई धुपबत्ती गर्नसक्ने कुरा व्यंगात्मकरूपमा ट्विट गरेको थिएँ । त्यसको जेठ २१ गतेको मन्त्रिपरिषद् हेरफेरबाट पुष्टि भयो ।’

कामचलाउ प्रधानमन्त्रीको यो कदम जनादेशका विरुद्धमा भएको समेत रावलको भनाइ छ । उनले भनेका छन्, ‘कामचलाउ प्रधानमन्त्रीको यो कार्य संवैधानिक र लोकतान्त्रिक मान्यता विरोधी र गत आम निर्वाचनमा जनताले दिएको जनादेशका विरुद्धमा छ ।’

प्रधानमन्त्री ओलीले दुईपटक संविधानसभा निर्वाचन गरी देश र जनताले ठूलो मूल्य चुकाएर जारी गरेको संविधान संशोधन गर्न भनी कथित कार्यदल गठन गर्नु राष्ट्रघात र जनघात भएको उनको तर्क छ ।

‘यसमा रहेको लोकतन्त्रघातीहरूको नाम सार्वजनिक होस् । प्रधानमन्त्रीले राष्ट्रघाती, जनघाती, लोकतन्त्र र पार्टीको सिद्धान्त, नीति र विधान विपरीतका क्रियाकलापबाट देश, जनता र लोकतन्त्रलाई जोगाउन हामी आवश्यक दृढ पाइला चाल्नुपर्ने परिस्थितिमा पुगेका हौँ’ रावलले लेखेका छन् । नेता रावलले देश र लोकतन्त्रको रक्षाका लागि सबैलाई एकजुट हुन आग्रह गरेका छन् ।

प्रतिक्रिया