नेपाल खबर

उपल्लो डोल्पा : कोभिड लक्षणसँग मेलखाने बिरामीले थलिए

डोल्पा, २१ जेष्ठ । डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाका प्रत्येक घरमा कोभिड–१९ लक्षणसँग मेल खाने बिरामी देखिएका छन् ।

डोल्पोबुद्ध गाउँपालिकाकाअन्तर्गत पर्ने वडामा कोभिड–१९ को लक्षणसँग मेलखाने बिरामी देखिएको स्थानीय स्वास्थ्यकर्मीले जानकारी दिएका छन् ।

करिब एक महिनाअघिदेखि रुघाखोकी, ज्वरो र शरीर दुख्ने, खान मन नलाग्नेलगायतका लक्षणका बिरामी दिनप्रतिदिन बढ्दै गएको धो स्वास्थ्यचौकीमा कार्यरत स्थानीय स्वास्थ्यकर्मी कार्मा साङ्मो थापा भोटेले जानकारी दिए ।

‘कोभिड–१९ लक्षणसँग मेल खाने बिरामी धोका अधिकांश घरमा छन्, एकै घरमा चार÷पाँच जनासम्म बिरामी परेका छन्, स्वास्थ्यचौकीमा भएको सिटामोल, एन्टिबायोटिकलगायत औषधि वितरण गरिरहेका छौँ’, उनले भने, ‘अहिले गाउँमा करिब ५० हाराहारीमा बिरामी छन्, दिनप्रतिदिन रोग फैलिइरहेको छ, अलि पहिला बिरामी परेका व्यक्ति सञ्चो पनि भइरहेका छन् । ’

स्वास्थ्य संस्थासम्म आउन नसक्ने बिरामीका लागि कुनै सुरक्षाका मापदण्ड नअपनाएर सामान्य मास्कका भरमा औषधि बोकेर घरघरमा पुग्ने गरेको उनको भनाइ छ ।

बिरामी पर्ने बालबालिका, वृद्धवृदालगायतका सबै उमेर समूहका रहेको उनले बताए । स्वास्थ्यचौकीमा भएका औषधि दैनिक वितरण भइरहेकाले थप मौज्दात औषधिको आवश्यक्ता रहेको उनको भनाइ छ । अधिकांश बिरामी घरमै निको भइरहेको स्वास्थ्यकर्मीले बताएका छन् ।

त्यसैगरी डोल्पोबुद्ध गाउँपालिकाअन्तर्गत पर्ने तिन्जेगाउँमा पनि कोभिड लक्षणका बिरामी बढेका छन् । गाउँमा २० देखि २५ हाराहारी कोभिड लक्षणका बिरामी रहेको तिन्जे स्वास्थ्यचौकीमा कार्यरत स्थानीय स्वास्थ्यकर्मी तथा इन्चार्ज छिरिङ थापाले जानकारी दिए ।

एक महिनादेखि बिरामी बढ्ने र सञ्चो हुने सङ्ख्या बराबर रहेको उहाँको भनाइ छ । ‘कोही बिरामी स्वास्थ्यचौकीमा आउँछन्, कोही आम्चीमा जाने गर्दछन्, कोभिड जाँच गर्ने कुनै पनि औषधि उपकरण नभएकाले समस्या भएको छ’, थापाले बताए ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top