ताइपेईविरुद्ध नेपालको दोस्रो जित, एसियन कपको तेस्रो चरणमा प्रवेशको सम्भावना बलियो
अखबार टुडे
प्रकाशित:
२०७८, २१ जेष्ठ

काठमाण्डौं, २१ जेष्ठ । फिफा विश्वकप फुटबल छनोट प्रतियोगिता अन्र्तग गएराति भएको खेलमा चाइनिज ताइपेईलाई २–० गोल अन्तरले पराजित गर्दै नेपालले जित निकालेको छ ।

नेपालको जितका लागि अञ्जन विष्ट र नवयुग श्रेष्ठले समान एक–एक गोल गरेका थिए । कुवेतको जाबेर अल अहमद रंगशालामा भएको खेलको चौथो मिनेटमा अञ्जनले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । ताइपेईका खेलाडीले बल हातले छोएपछि नेपालले पेनाल्टी पाएको थियो ।

अर्को गोल ८१ औं मिनेटमा नवयुग श्रेष्ठले गरे । नवयुग परिवर्तित खेलाडीको रुपमा ६९ औं मिनेटमा मैदान प्रवेश गरेका थिए । हिजोको जितसँगै नेपालले विश्वकप छनोटका दुवै खेलमा चाइनिज ताइपेईलाई हराउन सफल भएको छ । यसअघि उसकै घरेलु मैदानमा नेपालले २–० गोलले नै हराएको थियो ।

तालिकामा नेपालको ६ अङ्क भए पनि विश्वकप छनोट खेल्ने सम्भावना लगभग सकिएको छ । तर एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गर्ने सम्भावना कायमै छ । यस्तै चाइनिज ताइपेई अङ्कविहीन रहेको छ । नेपाल रहेको समूह ’बी’ मा अष्ट्रेलिया ४ खेलमा १२ अङ्कसहित शीर्ष स्थानमा रहेको छ । नेपालले आउँदो सोमवार जोर्डनसँग र २८ गते अष्ट्रेलियासँग खेल्दैछ ।

प्रतिक्रिया