बेलायती पत्रिकाले दावी गरेजस्तै नेपालमा कोरोनाको ‘नयाँ भेरियन्ट’ देखिएको हो ?
अखबार टुडे
प्रकाशित:
२०७८, २० जेष्ठ

काठमाडौं, २० जेठ । के नेपालमा कोरोनाभाइरसको नयाँ भेरियन्ट देखिएकै हो ? बिहीबार बेलायतको एक पत्रिकाले ‘नेपालमा कोरोनाको नयाँ भेरियन्ट’ देखिएको दावीसहित समाचार प्रकाशित गरेपछि यसबारे प्रश्न उठेको छ ।

बेलायतको चर्चित ट्याबलाइट पत्रिका ‘डेली मेल’ले नेपालमा कोरोनाको नयाँ भेरियन्ट देखिएको समाचार प्रकाशित गरेपछि यसबारे विभिन्न मिडियाले समाचार लेखेका छन् । नेपाली मिडियामात्र नभएर बिबिसीले समेत यसबारे समाचार लेखेको छ ।

कतिपयले यसलाई ‘सनसनीपूर्ण’ समाचार बनाइएको भन्दै खासगरी सामाजिक सञ्जालमा चर्को आलोचना गरेका छन् । नेपालमा देखिएको कोरोनाभाइरसको त्यो नयाँ भेरिअन्ट ‘ब्रिटिशहरूको बिदाका निम्ति खतरनाक हुन सक्ने’ सामाचारमा दाबी गरिएको छ । नेपालबाट सुरु भएको ठानिएको नयाँ प्रकार युरोपमा पनि फैलिसकेको र तिनमा कोभिड खोपहरूले काम गर्न नसक्ने वैज्ञानिकहरूको आशंका रहेको समाचारमा लेखिएको छ ।

तर, यता विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयले नेपालमा नयाँ भेरियन्ट फेला परेको कुराबारे विश्व स्वास्थ्य संगठनलाई थाहा नभएको जनाएको छ । बिहीबार सामाजिक सञ्जाल ट्विटरमार्फत यो प्रष्टिकरण दिएको हो ।

यसैबीच नेपाल सरकारले समेत यसबारे चासो देखाएको छ । बेलायती पत्रिकामा दावी गरिएको समाचारलाई लिएर नेपालका स्वास्थ्य अधिकारीहरूले चासो व्यक्त गरेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार दुई देशका निकायबीच कोभिड–१९ सम्बन्धी सूचना आदानप्रदान हुँदै आएको छ । पौडेलले बिबिसी नेपाली सेवालाई भनेका छन्, ‘हिजो बुधवारेसम्म उहाँहरूले हामीलाई उपलब्ध गराएको सूचनाअनुसार त्यस्तो केही छैन । नेपालबाट फर्केका बेलायती नागरिकमा कुनै नयाँ भेरिअन्ट नदेखिएको हामीलाई जानकारी गराइएको छ ।’ उनले उक्त समाचारबारे यूकेको नियामक निकायसँग बुझिरहेको बताएका छन् ।

विश्व स्वास्थ्य संगठनले पनि अहिलेसम्म ‘भेरियन्ट अफ कन्सर्न’ भनेर नेपालमा त्यस्तो कुनै नयाँ भेरियन्ट देखिएको नभनेको प्रवक्ता पौडेलले बताए । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म यूकेमा देखिएको अल्फा भेरियन्ट र भारतमा देखिएका डेल्टा तथा कापा भेरियन्ट पुष्टि भएको छ ।

नेपालमा दोस्रो लहरका क्रममा उच्च संक्रमण दर देखिनुको कारण डेल्टा भेरिअन्ट नै रहेको स्वास्थ्य अधिकारीहरूको भनाइ छ ।

प्रतिक्रिया