आइज्याक हर्जोग इजरायलको राष्ट्रपतिमा निर्वाचित
अखबार टुडे
प्रकाशित:
२०७८, २० जेष्ठ

जेरुसेलम, २० जेष्ठ (एजेन्सी) । इजरायलको राष्ट्रपतिमा वरिष्ट राजनीतिज्ञ आइज्याक हर्जोग निर्वाचित भएको छ ।

देशको एघारौं राष्ट्रपतिका रुपमा निर्वाचित हर्जोगले १२० सदस्यीय इजरायली संसदबाट ८७ मत प्राप्त गरेका थिए । इजरायलमा हाल रुभेन रिभलिन राष्ट्रपति छन् । उनको कार्यकाल अर्को महिना समाप्त हुँदैछ ।

आलङ्कारिक मानिने इजरायलको राष्ट्रपतिको कार्यकाल सात वर्षको हुन्छ । हर्जोगले राष्ट्रपतिका अर्का उम्मेदवार मेरियम पेरेजलाई पराजित गरेएको थियो ।

चुनावी नतिजा सार्वजनिक भएलगत्तै नवनिर्वाचित राष्ट्रपति हर्जोगले आफू सबै जनताको राष्ट्रपति हुने विश्वास व्यक्त गरे । साठी वर्षीय हर्जोगले भने, ‘हामीले इजरायलको अन्तर्राष्ट्रिय छविलाई सुदृढ गर्नु पर्नेछ र इजरायल विरोधी भावनालाई हटाउन प्रयत्न गर्नु पर्नेछ । साथै हाम्रो लोकतन्त्रको स्तम्भलाई संरक्षण गर्नु पर्दछ । ’

हर्जोग यसअघि लाबोर पार्टीको पूर्व प्रमुख रहनुका साथै सन् २०१५ मा संसदमा विपक्षी दलको नेता थिए । उनी सन् २०१५ का चुनावमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको विरुद्धमा चुनावी मैदानमा उत्रिएका थिए ।

हर्जोग इजरायलको प्रभावशाली जियोनिस्ट परिवारका सदस्य हुन् । उनका बुबा चाइम हर्जोग पनि इजरायलको राष्ट्रपति र संयुक्तराष्ट्रसंघका लागि इजरायली राजदूत थिए । उनका काका अब्बा एबान पनि इजरायलको पहिलो विदेश मन्त्री रहनु भएको थियो ।

अर्की उम्मेदवार ६७ वर्षीय पेरेज बढी अनुदारवादी र राष्ट्रवादी स्वभावकी हुनुहुन्छ । उनी मोरक्कोबाट सानैमा इजरायल बसाईँ सर्नु भएको थियो । उनले इजरायलमा शिक्षिका, शिक्षाकर्मी र यहूदी धर्मको बारेमा अध्यापकका रुपमा सेवा गर्नु भएको छ । उनका दुई छोराको इजरायली सैनिक सेवामै रहँदा मृत्यु भएको छ ।

सन् २०१८ मा उहाँलाई इजरायलको सर्वोच्च पदक ‘इजरायल प्राइज’ बाट सम्मानित गरिएको थियो ।

राष्ट्रपतिमा निर्वाचित हुन इजरायली संसद नेसेटको १२० स्थानमध्ये कम्तीमा ६१ स्थान प्राप्त गर्नु पर्दछ । विजयी उम्मेदवारले आगामी जुलाई ९ बाट कार्यभार सम्हाल्नेछन् ।

प्रतिक्रिया