कोरोना जितेपछि पूर्वराजा शाह दम्पतीले भने ‘श्री पशुपतिनाथले सबैको कल्याण गरुन्’
अखबार टुडे
प्रकाशित:
२०७८, २० जेष्ठ

काठमाडौं, २० जेठ । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहले आफूहरुले कोरोना भाइरसँग लडाइँ जितेको जानकारी गराएका छन् । पूर्वराजा रानीले बिहीबार एक भिडियो सन्देश जारी गर्दै आफूहरुलाई स्वास्थ्य लाभको कामना गर्नेप्रति आभार व्यक्त गरेका छन् ।]

२ मिनेट ३२ सेकेन्ड लामो भिडियोमा पूर्वराजा शाहले महामारीको समयमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी तथा सामाजिक कार्यकर्ताहरूलगायत अग्रपंक्तिमा रही कार्यरत सवैमा धन्यवाद व्यक्त गरेका छन् ।

ज्ञानेन्द्र शाहले भिडियोमा भनेका छन्, ‘हाम्रो स्वास्थ्यबारे चिन्ता र चासोका साथ शुभकामना दिनुहुने देशभित्र र बाहिर रहनुहुने सवै नेपालीहरुमा आभार व्यक्त गर्दछौँ ।’ अहिले आफूहरु पूर्ण स्वास्थ्यलाभको क्रममा रहेको भन्दै देशभित्र र बाहिरको महामारीको अवस्थाप्रति भने चिन्तित रहेको बताएका छन् ।

‘महामारीको प्रक्रिया जारी छ । यसलाई नियन्त्रण गर्नका लागि हाम्रो आफ्नै संकल्प र बाहिरी सहयोगको आवश्यकता पर्दछ’ भिडियोमा भनेका छन्, ‘प्राप्त अन्तर्राष्ट्रिय सहयोगको लागि पनि धन्यवाद दिन चाहन्छु । महामारीको क्रममा जीवन गुमाउनु हुने सबैमा चिर शान्तिको कामना गर्दछु । श्री पशुपतिनाथले सबैको परिवारमा धैर्य धारणको लागि शक्ति प्रदान गरुन् ।’

प्रतिक्रिया