छाक टार्न समस्या भए ११८० मा सम्पर्क गर्नुस् : काठमाडौँ महानगरपालिका
अखबार टुडे
प्रकाशित:
२०७८, २० जेष्ठ

काठमाडौं, २० जेष्ठ । काठमाडौँ महानगरपालिकाले बन्दाबन्दीको समयमा कसैलाई छाक टार्न समस्या भए हटलाइन नम्बर ११८० मा फोन गर्न आग्रह गरेको छ ।

दोस्रो लहरको काभिड–१९ का कारण देशका अधिकांश जिल्लामा बन्दाबन्दी गरिएको छ । यस समयमा कसैलाई दैनिकी चलाउनका लागि खाद्य सामग्री आवश्यक परे महानगरपालिकाको हटलाइन नम्बरमा फोन गर्न भनिएको हो । अघिल्लो वर्षको कोरोना महामारीका समयमा विभिन्न सङ्घसंस्था र महानगर आफैँले पनि वडासँग समन्वय गरी समस्यामा परेकालाई खाद्य सामग्री वितरण गरेको थियो ।

‘गत वर्षको तुलनामा यस वर्ष खानका लागि समस्या प¥यो भन्दै आउनेको सङ्ख्या एकदमै कम रहेको छ, आएकालाई वडा कार्यलयमार्फत सहयोग गरिरहेका छौँ ’, महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले भन्नुभयो, ‘कोही समस्यामा परेर पनि कहाँ सम्पर्क गर्ने भनेर अन्योल हुनुभएको भए आफू बसोबास गरेको स्थानसहित ११८० मा फोन गरेर जानकारी गराउन आग्रह गर्दछु । ’

यसरी जानकारी प्राप्त भएपछि महानगरपालिकाका ३२ वडामध्ये कुन वडाबाट सहयोग गर्न सहयोग हुन्छ सोहीअनुरुप आवश्यक खाद्य सामग्री सहयोग गरिने जनाइएको छ ।

महानगरपालिकाले कोभिडका बिरामीलाई उपचारमा सहज होस् भन्ने हेतुले बिरामीलाई अस्पताल पुग्न पनि कोभिड–१९ का बिरामीका लागि फोन नं १०२ मार्पmत १० र नन्कोभिड बिरामीका लागि १० गरी कूल २० निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको छ । त्यसबाट हालसम्म २२ हजार कोभिड सङ्क्रमित बिरामी र १२ हजार नन्कोभिड बिरामीले सेवा लिएका छन् ।

प्रतिक्रिया