
काठमाडौं, २० जेष्ठ । फिफा विश्वकप छनौटको दोस्रो चरण अन्तर्गत नेपालले बिहीबार कुवेतको जाबेर अल अहमेद स्टेडियममा चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्दैछ ।
कतारमा अर्को बर्ष अर्थात सन् २०२२ मा हुने विश्वकप छनोटको दोस्रो चरणको खेलका लागि नेपालले बिहीबार राति १० बजे चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले ताइपेईविरुद्ध नेपालको लक्ष्य जित भएको बताएका छन् । छनोटको चौथो स्थानमा रहेर एसियन कपमा छनोट हुने मौका कायम राख्ने उनको भनाइ छ । तर कुवेतमा गर्मी धेरै भएकाले खेल खेल्न भने कठिन हुने उनले बताएको छ ।
नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाइसकेको छ । तर नेपाललाई बाँकी खेलमा जित निकाल्दै एसिया छनोटको तेस्रो चरणमा स्थान बनाउने सुनौलो अवसर रहेको छ । नेपाल समूह चरणमा तीन अंकसहित चौथो स्थानमा छ ।
हेड टु हेडमा नेपालले चाइनिज ताइपेइसँग अहिलेसम्म दुई खेल खेलेको छ । जसमा नेपालले एक खेल जितेको छ भने एक खेल बराबरी खेलेको छ ।