निर्वाचन आयोगले माग्यो उपेन्द्र र महन्थलाई केन्द्रीय पदाधिकारीको हस्ताक्षर
अखबार टुडे
प्रकाशित:
२०७८, १९ जेष्ठ

काठमाडौं, १९ जेष्ठ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरलाई एक–अर्कालाई कारबाही गर्नेबारे केन्द्रीय समितिका पदाधिकारीको निर्णय र हस्ताक्षर मागेको छ ।

दुवै अध्यक्षले मङ्गलवार (हिजो) एक–अर्कालाई कारबाही गरेको पत्र निर्वाचन आयोगमा पठाएका थिए । तर निर्वाचन आयोगले भने कारबाही गर्नुपर्ने आधार र कारबाही गर्नका लागि चाहिने पदाधिकारी तथा केन्द्रीय सदस्यको हस्ताक्षर तथा ढाँचा नमिलेको भन्दै पुष्टि हुने कागजात पठाउन पत्र पठाएको हो ।

दुवै अध्यक्षले एक–अर्कालाई कारबाही गरिएको उल्लेख गरे पनि कारबाही पुष्टि हुने आधिकारिक कागजात र निर्णयको प्रतिनिधि नपठाएको आयोगले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने क्रममा विश्वासको मत दिने र नदिने पक्षमा विभाजित जसपा एकले अर्कालाई कारवाही गर्ने अवस्थामा पुगेको हो । जसपाकै नेताहरु अब पार्टी एक रहने अवस्था समाप्त भएको बताउन थालेका छन् । ठाकुर समूह छिट्टै सरकारमा सहभागी हुँदैछ ।

प्रतिक्रिया