नेपाल खबर

विदेशबाट फर्किने यात्रुलाई सरकारले तोक्यो ७८ होटललाई क्वारेन्टिन

काठमाडौं, १९ जेष्ठ । सरकारले विदेशबाट फर्किएका र कोरोना संक्रमण शंकास्पदहरुका लागि ७८ वटा होटललाई क्वारेन्टिनका रुपमा सूचीकृत गरेको छ ।
क्वारेन्टिन बस्न पर्यटन विभागले होटलको सूची सार्वजनिक गर्दै न्यूनतम मापदण्ड तोकेको हो ।
विभागका महानिर्देशक रुद्रसिंह तामाङका अनुसार कम्तीमा २० वटा कोठा भएको होटललाई क्वारेन्टिनका रुपमा तोकिएको छ ।
सरकारले वैदेशिक रोजगारीमा गएर नेपाल फर्कनेलाई ५ दिन र अन्य अवस्थामा फर्कने नेपाली र विदेशी नागरिकलाई १० दिन होटल बुकिङको प्रमाण देखाएपछि मात्र नेपाल आउन अनुमति दिने भएको छ ।
विभागले यसअघि भारतबाट आउने यात्रुका लागि १० वटा होटल तोकेको थियो । तीसँगै अहिले ७८ वटा होटलको सूचि सार्वजनिक गरेको हो ।
महानिर्देशक तामाङका अनुसार क्वारेन्टिन तोकिएको होटलमा स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्नुपर्ने, होटल परिसरभित्र छुट्टै गेट वा कम्पाउण्ड भएको र सकेसम्म घुमफिर गर्न सक्ने खुला स्थान र बगैंचा हुनुपर्छ ।
होटलले सामूहिक रुपमा खाना खाने स्थान, बुफे, जिम, साउना, इण्डोर तथा आउटडोर गेम भने पूर्ण रुपमा बन्द गरेको हुनुपर्छ । नेपाली तथा विदेशी नागरिक विदेशबाट आउँदा पालना गर्नुपर्ने आदेश २०७८ को भने पूर्ण पालना गर्नुपर्ने गरी नियम बनाइएको छ ।
होटल क्वारेन्टिन बसेवापत लिने शुल्क भने सरकारले तारे होटलको तोकेको छैन । ती होटल स्वयंले मूल्य तोक्न सक्ने जनाएको छ । तर पर्यटनस्तरका होटलको दैनिक शुल्क भने ३ हजार रुपैयाँ तोकिएको छ ।
हाल नेपालले पहिलो चरणमा टर्की, कतार, चीन र भारतमा नियमित हवाई उडान सञ्चालनमा ल्याएको छ ।

क्वारेन्टिन तोकिएका होटलहरु
होटल सांग्रिला, होटल –याडिसन, होटल याक एण्ड यती, हायात रिजेन्सी, सोल्टी, अलफ्ट होटल, एभरेष्ट होटल, होटल शंकर, होटल हिमालय, समिट होटल, अमादब्लम होटल, साम्बाला होटल, ले हिमालय, होटल प्लाटिनम, होटल ट्रेडिसनल कम्फर्ट र होटल ल्याण्डमार्कमा क्वारेन्टिन बस्न सक्नेछन् । त्यस्तै, ५१ होटल र बुढानीलकण्ठस्थित पार्क भिलेज र गोकर्ण फरेष्ट रिसोर्ट समावेश छ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top