राँझा, १८ जेष्ठ । नेपालगञ्जस्थित भेरी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमण घटनाको वास्तविकता बुझ्न गठित छानबिन समितिले सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन बुझाएको छ । उक्त प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन ।
सहायक प्रजिअ शङ्कर विष्टका संयोजकत्वमा गठित सात सदस्यीय छानबिन समितिमा भेरी अस्पताल विकास समितिका दुई सदस्य, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक, नेपाल चिकित्सक सङ्घका दुई सदस्य र नर्सिङका तर्फबाट एक सदस्य रहेकोे थियो ।
संयोजक विष्टले कोरोना महामारीका कारण भेरी अस्पतालमा भएको जनशक्ति अभाव, घटना भएको दिनउत्पन्न परिस्थिति, जनशक्ति अभावलगायत समस्या र त्यसको दीर्घकालीन समाधानका लागि प्रतिवेदनमा सुझाव दिइएको बताए ।
उनका अनुसार छानबिन समितिले घटनाको स्थलगत अध्ययन, कुटपिट गरिएका चिकित्सक र स्वास्थ्यकर्मी, पीडक, घटनाका प्रत्यक्षदर्शी र बिरामीका कुरुवासँग समेत सोधपुछ गरेर प्रतिवेदन तयार पारेको छ । उक्त प्रतिवेदनमा घटना हुनाको कारण र दीर्घकालीन समस्या समाधानको पाटालाई पनि समावेश गरिएको छ ।
गत बिहीबार दाङका कोरोना सङ्क्रमित ५३ वर्षीय डिल्ली रावतको उपचारका क्रममा मृत्यु भएपछि मृतकका भाइ मानबहादुर, छोरा भरत र लोकराजलगायतले भेरी अस्पतालमा काममा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नाका साथै सघन उपचार कक्षमा तोडफोड गरेका थिए ।